कास्की-सहारा क्लब पोखराका प्रशिक्षक किरण श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिनियर राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
यसअघि एन्फाले सहयक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टिमको कार्यवहाक मुख्य प्रशिक्षकमा नियुक्त गरे पछि बिहिबार किरणलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
बंगलादेशमा आयोजना हुने १२औं संस्करणको साफ च्याम्पियनसिपलाई लक्षित गर्दै एन्फाले किरणलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । गोलकिपर प्रशिक्षकमा भने नवीन महर्जन यथावत छन् ।
पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण शुरुवात गरेका ४२ वर्षीय किरण एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पोखराको सहारा क्लबबाट खेलजीवन शुरुवात गरेका उनले ‘ए’ डिभिजन क्लब जावलाखेलबाट २०५६ देखि २०६१ सम्म खेल्ने क्रममा उनले टिमको कप्तानी समेत सम्हालेका थिए । त्यसपछि प्रशिक्षणमा लागेका उनले साहरा क्लबबाटै प्रशिक्षण शुरुवात गरेका थिए ।
सहारापछि उनले ‘ए’ डिभिजन लिगमा बौद्ध फुटबल क्लब, राष्ट्रिय लिगमा सूदुरपश्चिम–११ फुटबल क्लब, नकआउट प्रतियोगिताहरुमा हिमालयन शेर्पा र कास्की–११ लाई प्रशिक्षण दिइसकेका छन् ।
साफ च्याम्पियनसिप यही भदौ १९ देखि ३० सम्म बंगालादेशको ढाकामा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले ४ सेप्टेम्वरमा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । ६ सेप्टेम्वरमा भुटान र ८ सेप्टेम्वरमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल अहिलेसम्म साफ च्याम्पियसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४