काठमाडौं- विद्यालय तहको शैक्षिक गुणस्तर उकास्नका लागि 'टिच फर नेपाल' सुरु गरेका शिशिर खनाल प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन्। टिच फर नेपालका सहसंस्थापक खनालले काठमाडौं-६ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
काठमाडौं जिल्ला टोखा नगरपालिका-१०, गोंगबुका बासिन्दा ४३ वर्षीय खनालले शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन्। अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा सल्लाहकारका रूपमा समेत काम गरेका छन्।
शिक्षा ऐन बनाउनका लागि आफूहरूले लामो समय खबरदारी गरेपनि त्यसले सार्थकता नपाएको भन्दै शिक्षा र स्वास्थ्यका मुद्दालाई संसदसम्म पुर्याउन आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले बताए।
स्वतन्त्र उम्मेदवारी दिन लागेका खनाल स्वतन्त्र उम्मेदवारी अभियानमा भने जोडिएका छन्। २०७४ को चुनावमा काठमाडौं-६ बाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका थिए।