काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन्। सबैको व्यक्तिगत स्वार्थमात्र रहेको उनले आरोप लगाए।
शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओली गठबन्धन दलका प्रमुख नेताहरूप्रति खनिए। उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने हो भने देश ध्वस्त हुने दाबी गरे।
उनले भने, ‘अहिलेका नेताको कुनै गन्तव्य छैन। मोहनविक्रम सिंहको गन्तव्य प्युठान, शेरबहादुरको गन्तव्य म्याडम साहेब। प्रचण्डको गन्तव्य सुपुत्री। माधव नेपालको त के कुरा गरौं, उनको जिन्दगी छटपटीमै बित्छ। करबटे बदल्ते रहे सारे रात हम जस्तो छ। गन्तव्य केही पनि छैन।’
अहिले जस्तो राज्य संयन्त्रको दुरुपयोग इतिहासमै कहिले नभएको दाबी उनले गरे। कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले बताए। ‘राज्यसत्ताको योभन्दा नग्न दुरुपयोग कहिले भएको थिएन। महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने रहेछ। कति सारो खेलवाड?’ ओलीले भने।