काठमाडौं– कांग्रेस नेता विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ। सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार राती भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडकलाई मधुवनीको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरे।
भेटमा मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए। जटही–जनकपुर–ढल्केबर ६ लेनको सडक निधि भौतिक पूर्वाधारमन्त्री भएकै बेला निर्माण सम्पन्न भएको थियो।
यसैगरी कोलकता बन्दरगाहादेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका थिए।
मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्रसिंह सेखावतबीच भेट भएको छ। भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायत विषयमा छलफल भएको छ।
मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए। त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए।