ताप्लेजुङ- पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ। दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुवात भएको छ। यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो।
रेडपान्डाले शान्त ठाउँमा बस्न मन पराउँछ। मानव तथा अन्य जनावरले अशान्ति गरेको मन पराउँदैन। त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा पाइने क्षेत्रका जंगलमा प्रवेशमा रोक लगाएको छ। साउनदेखि असोजसम्म जंगलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी जंगल पस्न रोक लगाइएको छ।
रेडपान्डाले बच्चा हुर्काउने समय भएकाले जंगलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुने भएकाले यस्तो सूचना जारी गरिएको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक उपभोक्ता समितिले जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाका अनुसार रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्न खोज्ने, ठाउँ सार्न खोज्ने र सम्हाल्न नसके छोडेर अन्यत्रै जान्छ। यसबाट स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ।
जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ। यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन्। त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।
सामान्यतया एक सय ३५ दिनको गर्भाधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भाधारण गर्छ। गर्भवती भएको अवस्थामा ठूलो रूखको प्वाल खोजेर जन्माउने र हुर्काउने ठाउँ बनाउँछ। मेहनत गरेर बनाउने भएकाले बिनाअवरोध त्यहीँ हुर्काउन पाए बच्चालाई दूध चुसाएरै हुर्काउने भएकाले तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कने रेडपान्डा सुरक्षाकर्मीहरुको भनाइ छ।
लजालु स्वभावको रेडपान्डा यो अवधिमा चलायमान हुन्छ। खानेकुरा खोज्न गुँडबाहिर निस्कन्छ। आफूलाई असुविधा महसुस भए ठाउँ सार्ने गर्छ। सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ।
गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेडपान्डा त्रसित हुने गर्छ। त्यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ। सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु पनि हुन सक्छ। कुकुरबाट पनि जोखिम हुन्छ। कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताए।
मालिङ्गोको टुसा, टेगांको दाना, भालुचिण्डेजस्ता वस्तु खाएर बाँच्ने यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ। यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन।
ताप्लेजुङमा एक सय ३५ भन्दा बढी संख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्यांक छ। रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ। विभिन्न समयमा गरिएको सर्वेक्षणअनुसार मुलुकभर यसको संख्या तीन सयको हाराहारीमा रहेका छन्। -रासस