खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो। दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन। डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेशको बाध्यता हो। युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उपभोग गर्छन्।
युकेश जस्तै त्यस गाउँका अधिकांश बालबालिकाको दैनिकी स्कुल जानुभन्दा अगाडि पानी बोक्नेमा बित्छ। घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बालबालिकाको दैनिकी हो।
उसो त त्यही वडाको राँभुवासीले पनि पुस्तौँदेखि पानीको सास्ती खेप्दै आएका छन्। स्थानीयवासी ५९ वर्षीय अमृतबहादुर राईका अनुसार यस क्षेत्रका अधिकांशले दुई÷तीन घण्टाको बाटो पानीकै लागि धाउनुपर्ने अवस्था छ। पानीका मुहान सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा यो कष्ट झेल्नु परेको उनको भनाइ छ। यस क्षेत्रमा प्राकृतिक विपत्ति आइपरेको र यसले पानीको मुहानमा पनि समस्या पैदा गरेको राईले सुनाए।
'विसं २०४१ मा बाढीपहिरो आयो। त्यतिखेर पानीको मुहान फुट्यो। विसं २०४५ को भूकम्पले फेरि पानीको मुहान सुक्यो,' राईले भने, 'फेरि २०७२ सालको भूकम्पले त सुक्खाराम बनायो।' यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अपूरै छ। दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छ।
विसं २०६७ मा सुक्खाग्रस्त क्षेत्रमा घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ। त्रिधार्मिकस्थल हलेसीमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ। नेपाल सरकारको गौरवको आयोजना अलपत्र रहेको अवस्थामा दुर्छिमस्थित कोटगैरा र राँभुका स्थानीयवासीलाई लक्षित गरेर जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले मुहान संरक्षणका लागि बजेट उपलब्ध गराएर होस्टेमा हैँसे गरेपछि केही राहत मिलेको स्थानीयवासी बताउँछन्।
नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा धारापानी राँभु, धारापानी–२, धारापानी–३ र छापमुल पँधेरो मुहान संरक्षणका लागि रु चार लाख बजेट उपलब्ध गराएको हो। आयोजनाबाट दुई गाउँका १२४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको राँभुकी ६४ वर्षीया नैनसरी राईले सुनाए। 'पहिलेभन्दा अहिले त कति हो कति पानीको सुविधा छ,' राईले भने, 'पहिले पानी लिनका लागि कुवामा गएर लाइन लाग्नुपथ्र्यो। अहिले अधिकांशको घरमा पानीको धारा पुगेको छ।'
त्यस क्षेत्रका पानीका मुहान खुला राखिएकाले बर्सातका समयमा भलबाढी र अन्य फोहरले पानी दूषित हुने देखिएको छ। यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ। पानीको स्रोत बढाउन र त्यसलाई दिगो राख्न समुच्च खाडल (रिचार्ज पोखरी)हरुसमेत निर्माण गरिएको छ। ताराखसे सामुदायिक वन क्षेत्रको (ब्लक १ र २), सिमसार, खिरिम्टे र सारुवा भुइँचुङ भन्ने ठाउँमा एक हजार ८५० घनमिटर रिचार्ज पोखरी निर्माण गरिएको राँभुमा सञ्चालित हाम्रो साना किसान सहकारी संस्था दुर्छिमका अध्यक्ष मनकुमार राईले बताए।
आमा समूह तथा स्थानीयवासीको सहभागितामा उक्त रिचार्ज पोखरी खनिएको पोखरी निर्माणमा सहभागी कौशिला चाम्लिङले बताए। रिचार्ज पोखरीले पानीको स्रोत बढेको राँभुकै सर्वधन राईको भनाइ छ।
'रिचार्ज पोखरीले पानीको स्रोत बढ्छ भन्ने जानकारी थिएन,' सर्वधनले भने, 'पोखरी निर्माण भएपछि पानीको मात्रा बढेको छ, अहिले त धान रोप्न पनि सजिलो भएको छ।'
रिचार्ज पोखरी निर्माण, मुहान संरक्षण र सिँचाइ योजनाका लागि आयोजनाको रु १९ लाख बजेट उपलब्ध गराएको सहकारीका अध्यक्ष राईको भनाइ छ। उक्त योजनाका लागि स्थानीयवासीले २५ प्रतिशत श्रमदान गरेको राईले बताए। स्थानीय ६० घर उपभोक्ताका लागि लक्षित गरेर वाखिला घामपानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ। १५ मिटर लम्बाइ, पाँच मिटर चौडाइ र डेढ मिटर गहिराइको सिँचाइ पोखरी निर्माण गरिएको उपभोक्ताले जनाएको छ। - केदार मगर