काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न सत्तारुढ गठबन्धन तयार भएको छ। बुधबार दिउँसो बालुवाटारमा भएको गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्न सहमति जुटेको हो। निर्वाचनको मितिबारे छलफल गर्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका नेताहरुलाई बोलाएका थिए।
बैठकको सुरुमा नै गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावको मितिका सम्बन्धमा राख्दै आएका धारणाका बारेमा आफू जानकार भएको प्रधानमन्त्री देउवाले बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा विषय प्रवेश गर्दै देउवाले दाहाल–नेपालले राख्न सक्ने सम्भावित प्रस्तावको 'च्याप्टर क्लोज' गरिदिए। देउवाले बैठकको सुरुवातमै भनेका थिए, 'यो बैठक चुनावको मितिका बारेमा छलफल गर्न बोलाइएको हो। चुनाव मंसिर मै मंसिर मै हुन्छ। मंसिरमै गरौं, गर्नुपर्छ। मिति घोषणा गरेर निर्वाचन आयोगलाई जिम्मा दिऔं।’
दाहाल र नेपाल प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल फागुनसम्म रहेकाले निर्वाचन पनि फागुनमै गर्नुपर्ने पक्षमा देखिँदै आएका थिए। २०७४ साल मंसिरमा निर्वाचन भए पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले फागुनमा शपथ दिएकाले निर्वाचन पनि फागुनमै गर्नुपर्ने उनीहरुको तर्क थियो। गठबन्धनको बैठकमा दाहाल र नेपालले सोही प्रस्ताव अघि सार्न सक्थे। तर, देउवाले बैठकको सुरुवातमै मंसिरमै निर्वाचन गर्ने घोषणा गरेर दाहाल–नेपालको सम्भावित प्रस्तावको 'च्याप्टर क्लोज' गरिदिएका हुन्।
'प्रधानमन्त्रीज्यूले निर्वाचन फागुनमा गर्ने प्रस्ताव आउने बुझेरै विषय प्रवेश गर्दै मंसिरमा निर्वाचन गर्ने उद्घोष गरिदिनुभयो। जसले दाहाल–नेपाललाई अप्ठ्यारोमा मात्रै पारेन, उहाँहरुले फागुनमा निर्वाचन गर्ने प्रस्ताव समेत राख्न पाउनुभएन,’ बैठकमा सहभागी ती नेताले भने। बैठकमा देउवाले मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषय पनि आयोगले नै टुंगो लगाउने बताएका थिए। 'चुनावको मिति घोषणा गरौं। आयोगले निर्वाचनको तयारी पनि थाल्छ। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पनि आयोगले नै कानून बमोजिम टुंगो लगाउँछ,’ देउवाले भनेका थिए।
देउवाको प्रस्तावपछि बैठकमा उपस्थित सबै नेताहरु मंसिरमा चुनाव गर्न सहमत भएका थिए। र, बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनाव घोषणा गर्नेगरी बैठक सकिएको छ। यस्तै बैठकमा पाँच दलीय गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने सहमति समेत भएको बताइएको छ। सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाउने सहमति समेत बैठकमा जुटेको छ। 'शुक्रबार बिहान ९:३० बजे गठबन्धनको बैठक बस्छ। सोही बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउन कार्यदल गठन गर्छ,’ ती नेताले भने।