काठमाडौं– प्रहरी समायोजनमा आलटाल गरेको आरोपसहित मधेस प्रदेशले संघीय सरकारविरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बुधबार राजधानी जनकपुरमा पत्रकार सम्मेलन गरी चरणबद्ध संघर्ष गर्ने निर्णय गरेको बताएका हुन्।
संघीय सरकारलाई प्रहरी समायोजन छिटो टुंग्याउन प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षस्थ नेताहरुलाई जानकारी गराउँदासमेत अटेरी भएपछि चरणबद्ध आन्दोलन गर्ने निर्णयमा पुगेको उनको भनाइ छ।
प्रदेश सरकारको तर्फबाट यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित गठबन्धनका नेताहरुलाई ज्ञापनपत्र बुझाए पनि कार्यान्वयनमा आलटाल भएको साहले दाबी गरे। प्रदेश प्रहरीबिना शान्ति–सुरक्षा कायम गर्न सम्भव नरहेको बताउँदै उनले यसका लागि संघर्षमा उत्रिनुपरेको धारणा राखे।
प्रहरी समायोजनमा दबाब दिन २२ साउनमा सबै दलका प्रदेशसभा सदस्यसहित मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको उनले बताए। साहले सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपत्रपछि पनि संघीय सरकारले प्रहरी समायोजनमा चासो नदिए संघर्षका थप कार्यक्रम सार्वजनिक गरिने उनले जानकारी दिए।
सरकारले संघीयताविरोधीलाई बल पुग्ने गरी काम गरिरहेको सुनाए। प्रहरी समायोजनमा प्रधानमन्त्री देउवा गम्भीर नदेखिएको उनको आरोप छ। मन्त्री साहले गृह मन्त्रालयमा प्रहरी समयोजनसम्बन्धी सबै काम पूरा भए पनि प्रधानमन्त्री र केही कर्मचारीले नै यसमा आलटाल गरिरहेको आरोप लगाए।
मधेस प्रदेश सरकारको अगुवाइमा गत २३ असारमा ६ वटै प्रदेशका गृहमन्त्री सम्मिलित भेलाले संविधानअनुसार प्रदेशलाई प्रहरीको अधिकार दिन संघीय सरकारलाई साउनसम्मको सीमा दिइएको उनले स्मरण गरे।