काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनभित्र अर्थमन्त्री हुने कोही नभएर जनार्दन शर्मालाई पुनः अर्थको बागडोर सम्हाल्ने जिम्मा दिइएको बताएका छन्। मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शर्मालाई ‘रिपिट’ गरेर सत्ता गठबन्धनले दुनिया हँसाएको टिप्पणी गरे।
‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला,’ ओलीले भने। फेरि उही मान्छे। जे गरे पनि हुन्छ भन्ने मानसिकता गठबन्धनभित्र रहेको देखिएको उनले दाबी गरे।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। त्यसपछि शर्माले राजीनामा दिएका थिए । संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको पुष्टि नभएको भन्दै अर्थमन्त्री शर्मालाई सफाइ दिएको थियो। त्यसपछि शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका थिए।