काठमाडौं– नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको नाम परिवर्तन गरी विविसंघ (विश्वविद्यालय बिगार्ने संघ) राख्नुपर्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्ने बताएका हुन्।
उनले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए। उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठन नभई नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए।
सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्याइएको बताए।
उनले भने, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन। त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ। प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभुवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ। यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ। नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर विविसंघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रस्ताव गर्न चाहन्छु। यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ। विश्वविद्यालयभित्र लोकतन्त्रको परिभाषा पनि चेन्ज हुन थालेको छ। विश्वविद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द क्रिमिनल भन्ने नारा घन्किन थालेको छ। १८ देखि २५ वर्षका युवा उमेरका विद्यार्थी हुनुपर्नेमा विश्वविद्यालयमा आज ४० कटेका पाका विद्यार्थीहरु थुपारेर विश्वविद्यालय अस्तव्यस्त बनाइएको छ।’
सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए।