काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ। ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता प्रकाण्डलाई सोमबार पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकारी कदमको विरोध गरेको हो।
‘तीनबुँदे सहमतिविरुद्ध सरकार एवं राज्यले गराएको घटनालाई तुरुन्त रोकिएन भने यसबाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार उनीहरू नै हुनुपर्नेछ,’ प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका सञ्चालकले के कुरा राम्ररी बुझिराख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ।’
तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख छ। वर्तमान सरकार तीनबुँदे सहमतिप्रति इमानदार नदेखिएको नेकपाको आरोप छ।
थुनामा रहेका आफ्ना पार्टीका कार्यकर्ता रिहा नभएको उसले बताएको छ। पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाको ठम्याइ छ। आफ्ना दलका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल सघाएको विप्लव नेतृत्वको नेकपाले बताएको छ।