पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले गरेको प्रस्तावलाई सभामा सर्वसम्मतिले पारित भएको हो।
यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले प्रदेशमा खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताएका थिए। विधेयक माथिको दफाबार छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले खानेपानी र सरसफाइ मानव जीवनका लागि महत्वपूर्ण हुने बताउँदै समृद्ध प्रदेशका स्वस्थ नागरिकका लागि खानेपानी तथा सरसफाइ अपरिहार्य हुने बताएका थिए। प्रदेशको एकल अधिकारको प्रयोग गर्दै विधेयक आएको उनले बताएका थिए।
अर्का सदस्य ललितकला गुरुङले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वच्छ पिउने पानीको विषय अत्यन्त महत्वपूर्ण भए पनि विधेयक ढिला आएको उल्लेख गरेका थिए।
दिलमाया रोका मगर गौतमले गण्डकी प्रदेशसभाको पाँच वर्षमा विधेयक आउन लागेको बताउँदै यो विधेयक आफैँमा महत्वपूर्ण रहेको बताइन्। विधेयकमा सबै विषय समेटिएको उहाँले बताउनुभयो । बैठकको शून्य तथा विशेष समयमा सदस्यहरू प्रकाशचन्द्र दवाडी, मीनप्रसाद गुरुङ, जुनादेवी नेपाली, इन्द्रलाल सापकोटाले बाढी पहिराको प्रभाव एवम् समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराएका थिए।