काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। माओवादीबाट अर्थमन्त्री नियुक्त गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्तावसहित बालुवाटार पुगेको माओवादी स्रोतले जनाएको छ। प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न आग्रह गर्ने बताइएको छ।
बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो।
आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि बस्ने भएको छ। उक्त बैठकमा पनि अर्थमन्त्रीका विषयमा छलफल हुने स्रोतको भनाइ छ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ।