शनिबार, साउन १२, २०८१

गीत रेकर्ड गर्न राजा महेन्द्रबाट सहयोग पाएका प्रेमप्रकाश

प्रेमप्रकाश मल्लको काव्यकारिता माथि शोधमा प्याकुरेलले साहित्यकार मल्ल नेपाली एवं विदेशी साहित्यकारबाट प्रभावित भएको बताएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

आइतबार, साउन १५, २०७९

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

triton college

पोखरा त साच्चिकै पो पोखरा नै रैछ

कुनै जमाना थियो यो गीतले बजार खाएको। पोखराको फेवाताल र माछापुच्छ्रेबीचको सम्बन्ध र त्यसको सौन्दर्यमाथि अहिलेसम्म कति गीत गाइए होलान्, कविता लेखिए होलान्, तर यो गीत जस्तो अर्को सिर्जना निर्माण हुन सकेको छैन। अहिले पनि पोखरा पुगेर माछापुच्छ्रे हिमाल हेर्ने र फेवातालमा सयर गर्नेहरुले यो गीत स्मरण गर्छन्। यो गीत सुन्ने र जान्नेहरु कमैले थाहा पाउँदा हुन् यो गीतका सर्जक प्रेमप्रकाश मल्लबारे। 

नेपाली लोक परम्परामा आधारित गीतहरु गाएर नेपाली संगीत स्रोताहरुको मनमस्तिष्कमा बस्ने गायकको अन्त्य भने त्यति सहज भएन। कालजयी गीतका गायक मल्लको ८० वर्षको उमेरमा २०७३ साल वैशाख ११ गते राति मृत्यु भयो। मृत्यु अघिको जीवन भने कठोर र अत्यन्तै कष्टकर बन्यो। 

लामो समयदेखिको पक्षघात, उच्च रक्तचाप, डिप्रेसन, थाइराइड र प्यारालाइसिस जस्ता समस्याले ग्रसित रहेका मल्लको नेपालगन्ज शिक्षण अस्पतालमा निधन भइरहँदा र त्यो समाचार सुन्नेहरुले मनमनै गुनगुनाए होलान् एउटा उनैको गीत म मरे पनि मेरो देश बाँचिरहोस्। उनी मरेर गए, देश जसोतसो बाँचिरहेको छ। तर देशले उनलाई सम्झेको छरु नेपालगञ्जमा उनै प्रेम प्रकाश मल्ल मधुकरको ८७औँ जन्मजयन्ती मनाइएको छ।

Metro Mart
vianet

साहित्यकार तथा गायक प्रेमप्रकाश मल्लको जन्म विक्रम सम्वत् १९९३ साउन ११ गते शनिबारका दिन भएको थियो। समाजसेवी पिता होमजङ मल्लको जेष्ठ पुत्रका रूपमा माता विष्णुकुमारी मल्लका कोखबाट रूकुम जिल्लाको मुसिकोट खलङ्गास्थित सेरी गाउँमा जन्म भएको हो उनको। उनको न्वारानको नाम प्रेमजङ्ग मल्ल हो। साहित्यिक क्षेत्रमा महेन्द्र मधुकर उपनामले मल्ललाई चिन्ने गरिएको छ। 

प्रेमप्रकाश मल्लको विवाह २०१८ सालमा २५ वर्षको उमेरमा तत्कालीन जाजरकोटे राजाकी पनातिनी शमशेरजंग शाहकी छोरी महेन्द्रकुमारी शाहसँग भएको थियो। महेन्द्रकुमारीकै नामबाट मल्लले आफ्नो नामको पछाडि महेन्द्र मधुकर जोडेको साहित्यकार सनत रेग्मीले बताउँछन्। श्रीमती महेन्द्रकुमारीको ६६ वर्षको उमेरमा २०६३ सालमा मृत्यु भएपछि प्रेमप्रकाश मल्लले उनी नामक रोदन गीतिगाथा प्रकाशित गरेका थिए।

किताबको भूमिकामा मल्ल आफैंले लेखेका छन्, 'कुनै एउटा अत्यन्त संवेदनशील, त्यत्तिकै भावुक थप आजीवन अस्तित्व संरक्षणको निमित्त अनवरत संघर्षरत एकांकी जीवन बिताउन विवश वृद्ध युगल मध्य पनि अर्धाङ्गिनी नै दिवंगत भइदिएपछि यो वृद्ध बालकको दुर्दशा सोचिबस्छु, जो अपाङ्ग छ, हिँड्न र बोल्न नै असमर्थ छ।' उनले यो कृति जीवनको निक्कै कठिन अवस्थामा लेखेका थिए। 

शरीर खरानी भएर गए नि

परानी त्यो तिम्रो मभित्रै छ नि (उनी, पृष्ठ २८) 

प्रेमप्रकाश मल्ललाई साहित्य लेख्नका लागि घचघच्याउने काम उनका समकालीन साथीहरूले समेत गरेका थिए। ती साथीहरूमा विशेषरूपले जगदीश घिमिरे र नगेन्द्रराज घिमिरेहरु पर्दछन्। त्यसैगरी कवि मविवि शाहले प्रेमप्रकाश मल्लको प्रतिभाको कदर गर्दै भारतको कलकत्तास्थित महावाणिज्य दूतलाई पत्र लेखी गीत रेकर्ड गर्न आर्थिक सहयोग उपलब्ध गराएका थिए, जसबाट प्रेरित मल्ल पञ्चगान जस्तो पञ्चायती शासनको पक्षधर साहित्यिक कृति प्रकाशन समेत गरेको लेकप्रसाद प्याकुरेलले एक शोधमा लेखेका छन्। 

प्रेमप्रकाश मल्लको काव्यकारिता माथि शोधमा प्याकुरेलले साहित्यकार मल्ल नेपाली एवं विदेशी साहित्यकारबाट प्रभावित भएको बताएका छन्। उनको लेखन शिल्प महान् अङ्ग्रेजी कवि पीवी शेलीसँग मेल खान्छ भने माधवप्रसाद घिमिरेको प्रकृति चित्रणबाट प्रभावित प्रेमप्रकाश मल्ल लक्ष्मीप्रसाद देवकोटाको उत्तरार्धमा शारीरिक पीडाबाट ग्रसित हुँदाका रचनासँग मेल खाने भावभूति पोख्न सिपालु रहेको टिप्पणी पनि चर्चामा रहेको शोधमा बताएका छन्। 


मुक्तक, गजल, फुटकर कविता, खण्डकाव्यमा कलम चलाएका मल्ललाई नाम दिने क्षेत्र गायन हो। थुप्रै स्वदेशी एवम् आधुनिक किसिमका गीतहरूको रचना गरी स्वयम् आफैंले गाउँदै आएका मल्लको विभिन्न पत्रपत्रिकामा गीतहरु प्रकाशित छन्।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ लगायतका दर्जनौँ गीतहरू उनको 'अनुभूतिका स्वरहरू' सङ्ग्रहमा सङ्गिृहत छन्। तत्कालिन पञ्चायत परिवेश र राजालाई आधार बनाएर लेखिएको 'पञ्चगान' गीतसङ्ग्रहमा जम्मा पच्चीस वटा गीतहरू रहेका छन्। पञ्चायत शासनकालमा दरबार पञ्चहरुको नजिक भएका कारण अहिले उनको भूमिकालाई लिएर केही समूहले आलोचनात्मक दृष्टिकोण राख्ने गरेका छन्। 

चौध वर्षीय कलिलो उमेरदेखि सिर्जनामा लागेका मल्लको पहिलो सिर्जना कविता हो। २००७ साल फागुनमा 'आमा' विष्णुकुमारी मल्लको मृत्यु भएपछि सोही विषयवस्तुमा आधारित रहेर लेखिएको 'आमा' पछि उनको सिर्जना यात्रा सुरु भयो। २०१८ मा प्रेमप्रकाश मल्लको आफ्नै रचना, सङ्गीत र स्वरमा 'वनकी म चरी, सुनिदेला कोले कठैबरी' बोलको आधुनिक गीत अत्यन्त लोकप्रिय बनेको थियो। मल्लले नेपाली भाषाका रचनाहरूलाई छोडेर हिन्दी भाषामा दस–बाह्रवटा र अङ्ग्रेजी भाषामा पन्ध्र–बीसवटा गीत र कविता लेखेका छन्। कालजयी गीतका सर्जक मल्लका कविता, गजल र शोककाब्य लगायत ५ पुस्तक प्रकाशित छन्।

२०६० सालमा कोहलपुरबाट प्रकाशन हुने पूर्णिमा साहित्यिक पत्रिकामा साहित्यकार सागर गैरेले नेपालगञ्जका धरोहर मृत्यु शैयामा शिर्षकको लामो आलेख लेखेका छन्। विवाहपछि रुकुमबाट नेपालगञ्ज झरेका प्रेमप्रकाश मल्लले २०२३ मा स्नातक स्तरको शिक्षा समाप्त गरी तत्कालीन पञ्चायत विकास प्रशिक्षण केन्द्र नेपालगन्जमा सांस्कृतिक प्रबन्धक पदबाट नोकरी सुरु गरेका हुन्। पछि बढुवा भई अधिकृत स्तरको अनुदेशक पदमा पुगेको सागर गैरेले आलेखमा उल्लेख गरेका छन्।

२०३९ सालमा उपसचिव स्तरको उच्च अनुदेशक पदमा पदोन्नति भई २०५० सालसम्म जागिरमा काम गर्दाको जम्मा २७ वर्षीय समायवधि नै प्रेमप्रकाशको जागिरे जीवन हो। यसरी २०५० सालसम्म जागिरे जीवन विताएका मल्ललाई राजनीतिक आक्षेप लगाएर जागिर निकाला गरिएपछि उनको आर्थिक अवस्था खस्कँदै गएको प्याकुरेलले सोधमा उल्लेख गरेका छन्। यही खस्कँदो आर्थिक अवस्थालाई भरथेग गर्नका लागि प्रेमप्रकाश मल्लले नेपालगन्जकै एक स्थानीय वाटरपार्क नामक बोर्डिङ स्कुलमा सङ्गीत शिक्षकका रूपमा जागिरे जीवन बिताएका थिए।

सरकारी सेवा र सिर्जना सेवा गरेका प्रेमप्रकाश जीवनको उत्तरार्धमा राज्यबाटै किन उपेक्षामा परेरु  त्यो राजनीतिक कारण थियोरु पञ्चायतकालमा उनले गाएका 'हे राजा' लगायतका गीतहरुका कारण उनलाई गणतन्त्र भित्रिएको समाजले तिरस्कार गरेको होरु मृत्युपछि उनले यी प्रश्नहरु छोडेर गएका छन्। 

विगत लामो समयसम्म प्यारालाइसिसबाट थलिएर मृत्यवरण गर्न पुगेका मल्लको स्वास्थ्यबारे न कुनै संगीतका संघसंस्थाले ध्यान दिए न राज्यबाट नै उनको स्वास्थ्यप्रति ध्यान दिइयो। तर पनि उनले जीवनको अन्तिम क्षणसम्म लेखिरहे। 'उनले भनेका कुरा बुझिँदैन थियो, लेखेका कुरा समेत कम बुझिने तर लेख्न नछोड्ने,' साहित्यकार सागर गैरेले अहिले पनि सम्झन्छन्, 'मृत्युअघि पनि निक्कै सक्रिय भएर समाजकै लागि लेख्ने प्रेमप्रकाश मल्ललाई कुनै वाद र सिद्धान्तको पिञ्जडामा धुनेर अवमूल्यन गर्नु हुँदैन।'

प्रकाशित: Jul 31, 2022| 08:29 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।