विराटनगर- बन्दा काउली बोकेको मिनि ट्रकबाट प्रहरीले गाँजा बरामद गरेको छ।
शुक्रबार राति प्रदेश १–०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा काउली बोकेर भारततिर गइरहेको ट्रकमा चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) रानी विराटनगरले शुक्रवार राति ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए। उनका अनुसार बरामद गरेको गाँजा १५६ किलो छ। मिनी ट्रकभित्र ४६ बोरा काउली ल्याइएको थियो।
काउलीको मुनि गाँजा हालेर भारत लैजाने क्रममा प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको हो। बरामद गरेको गाँजा, ट्रक र पक्राउ परेका ट्रक चालकलाई आवश्यक थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाइएको एसपी लामिछानेले बताए।
प्रहरीले ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
संखुवासभाबाट काउली लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटबाट बरामद गरेको हो। गाँजा बरामद गरेको ट्रकले पुरानो विराटनगर भन्सार कार्यालय अगाडिको २ नम्बर ढाटमा समेत ठक्कर दिएको थियो।
प्रहरीले तरकारी बोकेको गाडीभित्र गाँजा भएको सूचना प्राप्त गरेको थाहा पाएपछि गाडीलाई पछ्याएको थियो। सशस्त्रले पछ्याएको थाहा पाएपछि ड्राइभरले गाडी भगाउन खोजेका थिए।
भारततिर गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल १ नम्बर प्रदेशका प्रमुख डीआईजी कमल गिरीले बताए।