काठमाडौं- सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यको विवादित नियुक्तिसम्बन्धी अध्यादेशको विषयमा लिएर परेका सबै रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ।
आदेशमा प्रक्रियागत काम कारबाही सम्पन्न नभएको वा अधुरो रहन पुगेको कारणबाट सुनुवाइ प्रक्रियामा बाधा आइनपर्ने कुराको पनि पूर्ण सुनिश्चित गर्न भनिएको छ। आदेशमा, 'यस इजलासको मिति २०७८÷१२÷९ मा भएको आदेशलगायत सबै अन्य पूर्वआदेश बमोजिमका निर्णय फाइल, कागजात आदि झिकाइ मिसिल सामेल राख्नेलगायत अन्य कुनै काम कारबाही वा प्रक्रिया सम्पन्न गर्ने कार्य भएको छ वा छैन? यस अदालतका रिट तथा मुद्दा महाशाखाका प्रमुख स्वयंले एकिन आदेश बमोजिमका सम्पन्न हुन बाँकी कुनै कार्य भए सबै कार्य तदारुकता र उत्तरदायित्वपूर्ण तबरबाट सम्पन्न गर्नु, गराउनु' भनिएको छ।
यसैगरी आदेशमा संवैधानिक नियुक्तिसम्बन्धी विषयमा सम्पन्न गर्नुपर्ने कुनै काम कारबाहीमा कुनै प्रकारको द्विविधा वा अलमल भएमा तत्काल संवैधानिक इजलासमा पेश गर्न पनि भनिएको छ।