काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिएका थिए। यसअघि सहायक विदेशमन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए।
बिहीबार साँझ नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरेका थिए।