बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक पास गरेर संसद्ले राष्ट्रघाती काम गरेको बताएका छन्। विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनले बताए।
राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष केसीले यस्तो कुरा बताएका हुन्। ‘नागरिकता विधेयकका कारण भविष्यमा हामी नेपाली अल्पमतमा पर्नेछौं,’ अध्यक्ष केसीले भने। संसद्बाट नागरिकता विधेयक पास भएपछि नेपालको अस्तित्वमाथि प्रश्न खडा भएको बताउँदै उनले सत्तामा बसेर हालीमुहाली गरेर पुस्तौं पुस्तालाई सम्पति आर्जन गर्न विदेशीको इसारामा नागरिकता विधेयक सदनबाट पास भएको केसीको दाबी छ।
संघीयता, नागरिकता विधेयक, एमसीसी, महँगी, भ्रष्टाचार, विभिन्न प्रकारका हिंसा र अपराधका विरुद्व राष्ट्रिय जनमोर्चाले निरन्तर संघर्ष गर्दै आएको र सम्झौताहीन संघर्ष गर्दे जाने अध्यक्ष केसीको भनाइ छ।संघीयताका कारण मुलुक टाट पल्टिएको अवस्थामा एमसीसी, राष्ट्रघाती नागरिकता विधेयकले देश झनै संकटमा परेको उनले बताए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्तामा रहेका आफूलाई ठूला भन्ने दलका नेताहरुले राजनीतिलाई व्यवसाय बनाएर देशलाई कंगाल बनाएको आरोप लगाए। पार्टीको अनुशासनमा रहेर जनताको हितमा जनपक्षीय काम गरेर व्यवहारमा देखाउन पार्टीका जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे। स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउनका लागि निष्ठापूर्वक काम गर्न अध्यक्ष केसीले आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्।
प्रदेश सांसद तारा जीसीले पार्टीको अनुशासन, नीति, सिद्वान्तलाई पूर्णपालना गरेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिइन्। बाग्लुङ जिल्ला समन्वय समितिका संयोजक अमर थापाले राष्ट्रिय जनमोर्चाको वैचारिक पक्ष सुन्दर भएकाले पार्टीको छविलाई कायम राखेर जनताको पक्षमा काम गरेमात्र असल जनप्रतिनिधि बन्न सकिने बताए। राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले क्रान्तिकारी रुपान्तरणका लागि जनताको पक्षमा काम गर्न आग्रह गरे। तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित २ सय २२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ।