शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीलाई 'बस्‍न लायक' सहर बनाउने संकल्प

उपमहानगरभित्रका खोलानाला अतिक्रमण हटाएर नगरभरि सरसफाइ, वृक्षरोपण र विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनलाई दिगो बनाउने योजनासहित धनगढीलाई समुन्नत सहर बनाउने सपनालाई साकार रूप दिँन लागिपरेका छन् मेयर गोपाल हमाल।
 |  शनिबार, साउन १४, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, साउन १४, २०७९

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमाललाई धनगढीबासीले विजयी गराउँदै गर्दा उनीप्रति जनताका थुप्रै आशा र अपेक्षा छन्। ‘मेरो धनगढी म बनाउँछु’ नारासहित चुनावमा होमिएका हमाललाई धनगढीबासीले धनगढी बनाउने संकल्पका साथ २६ हजार ८६५ मत दिएर निर्वाचनमा जिताए।

triton college

निकटतम प्रतिस्पर्धी नृप वडले १४ हजार ८१७ मत प्राप्त गरेका थिए। वड निवर्तमान मेयर पनि हुन्। हमालले जित्दै गर्दा धनगढीबासीमा खोलानाला अतिक्रमणको समस्या समाधान हुने, सडक व्यवस्थित हुने, सार्वजनिक सवारी पार्किङको व्यवस्था हुने, सार्वजनिक शौचालय व्यवस्थापनलगायत थुप्रै आशा छन्। मेयर हमाल पनि अहिले जनताका ती आशालाई पूर्णता दिन सक्रिय देखिन्छन्।

हमालले कार्यभार सम्हालेकै दिनदेखि धनगढी उपमहानगरमा खाल्डाखुल्डी रहेका सडकको मर्मत थालेका थिए। त्यसको केही दिनपछि उनले खोला अतिक्रमण हटाउने कार्यलाई अघि बढाए। सुकुटी नालाबाट उनले खोलानाला अतिक्रमण हटाउने काम थालेका छन्। केही दिन कामले निरन्तरता पाए पनि वर्षा भएसँगै अहिले खोलानाला अतिक्रमणको काम रोकिएको छ।

हमाल योजनाबद्ध रूपमा धनगढीलाई सुन्दर सहर बनाउने अभियानमा रहेको बताउँछन्। ‘अहिले म सचिवालयलाई सुदृढ पार्ने काममा लागिरहेको छु। जति राम्रो काम गर्न खोजे पनि सचिवालय चुस्तदुरुस्त हुनुपर्छ भन्नेमा सजग छु,’ उनले भने। खोलानाला अतिक्रमणका कारण पानीको प्राकृतिक बहावमा समस्या पैदा भएकाले धनगढी डुबानको ठूलो समस्या रहेको उनको बुझाइ छ। आफ्ना लागि उक्त समस्याको दीर्घकालीन समाधान गर्नु नै पहिलो प्राथमिकता रहेको हमाल बताउँछन्।

‘हामीले खोलानाला अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राखेरै काम गर्नेछौं। त्यतिमात्र नभएर अतिक्रमित सार्वजनिक जमिन खाली गराउने काममा पनि हामी सक्रिय छौं। अतिक्रमित जमिन हटाएर सार्वजनिक हितका लागि प्रयोग गर्ने लक्ष्य छ,’ नेपाल समयसँग कुरा गर्दै हमालले भने। 

Metro Mart
vianet

उनले खोलानाला अतिक्रमण हटाउने कार्य कठिन भए पनि त्यसबाट रत्तिभर नडगमगाउने बताए। ‘यो असहज काम हो। यसअघिका निर्वाचित जनप्रतिनिधिको पहिलो निर्णय पनि खोलानालाको अतिक्रमण हटाउने भन्ने नै थियो। तर त्यो उहाँहरूले सक्नुभएन। मचाहिँ आफ्नो अडानबाट पछि हट्ने छैन,’ उनले भने।

व्यक्तिका नाममा कतिपय नाला नै दर्ता हुनु दुखद् रहेको हमालको बुझाइ छ। हमालले नदीको क्षेत्रफलभित्र परेको जमिनको लालपुर्जा लिएका व्यक्तिको लालपुर्जा खारेजीका लागि प्रक्रियासमेत थालिएको बताए। ‘खोला, खोला किनार, सार्वजनिक तालतलैया नामसारी गर्न पाइँदैन,’ उनले भने, ‘त्यो गलत तरिकाले भएको रहेछ भने लालपुर्जा खारेजी प्रक्रियामा जान्छौं। कति अतिक्रमण भएको छ भन्ने हामीले तथ्यांक संकलन गरिसकेका छौं।’ आफूहरूलाई खारेजीको अधिकार नभए पनि प्रक्रिया अघि बढाउने अधिकार भएकाले त्यो अघि बढेको उनको भनाइ छ। त्यसमा सबैको साथ पाउनेमा विश्वस्त रहेको हमाल सुनाउँछन्। उनले जनताको साथले खोलानालाको अतिक्रमण हटाउने कार्य सफल भइरहेको बताउँदै कब्जा गरिएका जमिन फिर्ता ल्याउन पनि सफल हुने दाबी गरे। जनता नै सबैभन्दा शक्तिशाली भएकाले तिनको  साथ पाए आफूले सफल तुल्याएरै देखाउने हमालको प्रतिबद्धता छ।

जनहितका लागि आफू जस्तोसुकै चुनौती मोल्न पनि तयार रहेको उनले बताए। जनताको सेवाका लागि तनाव झेल्छु भन्ने प्रतिबद्धताका साथ मेयरमा निर्वाचित भएकाले आफूलाई कसैका धम्की वा प्रलोभनले कुनै असर नगर्ने हमाल बताउँछन्। आफूमाथि जनताको निरन्तर खबरदारीसमेत रहेकाले साहस थपिएको उनको धारणा छ।


अहिले केही समूहले अतिक्रमण हटाउँदा रुख काट्यो भनेर भ्रम छर्ने काम गरिरहेको आरोप उनले लगाए। पर्यावरण जोगाउन सचेत छन् हमाल। ‘पर्यावरणबिना संसार बाँच्दैन। म आफैं पनि पर्यावरणप्रति सचेत नागरिक हुँ। मेरा व्यक्तिगत प्रतिष्ठानमा पनि हरियाली देख्न सकिन्छ। सबै ठाउँमा रुख रोपेकै छु,’ उनले भने। कतिपय अवस्थामा विकास चाहिएकामा पर्यावरण जोगाउन खोज्दा नचाहेरै पनि केही साना रुख काट्नुपर्ने अवस्था मात्र भएको उनको दाबी छ।

‘कतिपय खोलामा अतिक्रमणका कारण पानी नै बग्न छाडिसकेको थियो। सुकुटी नालाबाट हामीले अतिक्रमण हटाउने कार्य थालेका छौं। कैलाली नाला पुगेकै छैनौं। सुकुटी नालामा अतिक्रणले गर्दा पानी बग्नै सक्ने अवस्था थिएन। त्यसैले त्यहाँ धेरै ठुटा रुख थिए,’ उनले भने। त्यस्ता रुखले पानीको बहाव रोक्ने भएकाले काट्नुपर्ने बाध्यता आएको हमाल बताउँछन्।

मानवीय क्षति भए पुनः जीवित गर्न नसकिने बताउँदै हमालले रुखमा क्षति भए व्यवस्थित रूपमा एक रुखको सल्ला बराबर १० रुख रोप्न सकिने बताए। ‘मानवीय क्षतिलाई ब्यालेन्स गर्न नसकिए पनि पर्यावरणलाई ब्यालेन्स गर्न सकिन्छ। हामीले पानीको बहावलाई अवरोध गर्दै फोहोर थुपार्ने बुट्यान र साना रुख मात्रै कटान गरेका हौं,’ हमालले भने। पानी फर्केर बस्तीमा नपसोस् भन्ने नगरको योजना रहेको उनको भनाइ छ।

डोजर लैजाने बेला बाटो बनाउन पनि केही साना रुख नोक्सान भएको उनी स्वीकार्छन्। काट्नैपर्ने ठाउँका स–साना रुख हटाइने उनले बताए। उपमहानगरले खोलानाला अतिक्रमण हटाउनुका साथै यस वर्ष सरसफाइ र वृक्षरोपण वर्षका रूपमा काम गर्ने उनको योजना छ।

हमालले स्वास्थ्य क्षेत्रमा पनि उपमहानगरले योजनाबद्ध रूपमा काम गर्न खोजेको बताए। स्वास्थ्य क्षेत्रमा वडा क्लिनिक सञ्चालन गरिएको उनी बताउँछन्। यो विशेषज्ञ सेवासहितको कार्यक्रम भएको हमालको धारणा छ। ‘यसमा एउटा गाइनोक्लोजिस्ट र एउटा जनरल फिजिसियन सेवा हुन्छ। त्यसमा अल्ट्रासाउन्ड, ईसीजी, ल्याब टेस्ट र केही प्रकारका औषधी पनि हामीले निःशुल्क वितरण गरिरहेका छौं,’ उनले भने, ‘यो साझेदारी कार्यक्रम हो। यसमा जनतालाई जोडेका छौं। हाम्रो धनगढी हामी बनाउँछौं अभियानका लागि हरेक धनगढीबासीलाई आफूसँग सँगै लैजान चाहन्छौं।’

धनगढीमा भएका वा नभएका जोसुकै व्यक्ति पनि यस अभियानमा सहभागी हुन सक्ने हमालको भनाइ छ। हमालले कार्यभार सम्हालेपछि कतिपय उदाहरणीय काम पनि गरेका छन्। उनले उपमहानगरले मेयरलाई चढ्न दिएको गाडी आफू नचढेर वडा क्लिनिकलाई उपलब्ध गराएका छन्। दुई जना डाक्टरको तलब मासिक दुई/दुई लाख गरी चार लाख धनगढीस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरबाट उपलब्ध गराइने व्यवस्था हमालले मिलाएका छन्। क्लिनिकका लागि २५ लाखको स्वास्थ्य सामग्री स्थानीय सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उनले जनाए। औषधी व्यवस्थापन पनि अहिलेसम्म मेडिकल र फार्मेसी व्यवसायीबाटै भइरहेको हमालको भनाइ छ।

‘यो कार्यक्रम प्रत्येक महिना एक दिन एउटा वडामा जान्छ। हामीले प्रत्येक वडामा कार्यक्रम लैजान निश्चित गते तोकेका छौं। सोहीअनुरुप प्रत्येक महिना तोकिएकै दिन उक्त वडामा शिविर जान्छ। यसले जनतालाई आफ्नो वडामा क्लिनिक कहिले सञ्चालन हुन्छ भनेर सम्झिन पनि सजिलो हुन्छ,’ हमालले भने।

उपमहानगरभित्रका खोलानाला अतिक्रमण हटाएर नगरभरि सरसफाइ, वृक्षरोपण र विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनलाई दिगो बनाउने योजनासहित धनगढीलाई समुन्नत सहर बनाउने सपनालाई साकार रूप दिँन लागिपरेका छन् मेयर गोपाल हमाल। 

उपमहानगरका ग्रामीण क्षेत्रमा पनि जनता बसिरहेको बताउँदै सहज रूपमा उपचारको पहुँचमा आउन सक्ने अवस्था नभएकाले यो कार्यक्रम सञ्चालन गरिएको उनले सुनाए। यसबाट कुखुरा बेचेर जनताले उपचार गर्नुपर्ने अवस्था अन्त्य हुने हमालको विश्वास छ।

यसका साथै उपमहानगरमा सार्वजनिक शौचालय र पार्किङको पनि समस्या रहेकामा त्यसलाई व्यवस्थित बनाउँदै लगिने योजना रहेको हमाल बताउँछन्। उपमहानगरमा सार्वजनिक जग्गा अभाव छ। यस्तो अवस्थामा नेपाल एयरलाइन्सको जग्गा लिजमा लिन पर्यटन मन्त्रालयमा पत्र पठाइएको उनले बताए। त्यहाँ पार्किङ, क्याफे र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले सुनाए। 

‘धनगढी नगर विकासले धनगढीलाई बनाएर सिध्यायो। यहाँ कुनै बाल उद्यान, पार्क, सार्वजनिक जमिन केही छैन,’ उनले भने। हमालले यस वर्ष सहरी सौन्दर्यीकरण नाम दिएर अभियान ल्याइएको बताए। उनले खाली ठाउँ खोजेर वृक्षरोपण गर्ने योजना रहेको सुनाए। सहरलाई सौन्दर्यीकरण गर्न केही बजेटसमेत विनियोजन गरिएको छ। यसका साथै लेख्न मिल्ने पर्खालमा पश्चिमका भेषभूषा झल्किने खाले, पर्यटकीय सौन्दर्य झल्किने खाले चित्र कोर्ने योजना उपमहानगरको छ।

धनगढीका विभिन्न स्थानमा स्मार्ट लाइट र चोक–चोकमा मास लाइटको व्यवस्थासमेत गरिने हमालको योजना छ। अहिले धनगढी छिर्दा सहरमा छिरेको अनुभूति नहुने अवस्था रहेकामा त्यो अवस्था अन्त्य गर्ने आफ्नो चाहना र योजना रहेको हमालको भनाइ छ।

‘गत वर्ष उपमहानगरमा २० करोड राजस्व उठेको थियो। ४२ करोड रुपैयाँ चालू खर्च छ। हामीलाई विकास गर भनेको पैसाले अहिले तलब र भत्ता खानुपर्ने अवस्था छ। ६ करोड रुपैयाँ करारका कर्मचारीमा खर्च भइरहेको थियो। आफ्ना मान्छेलाई तोकका भरमा करारमा भर्ना गरिएको थियो। त्यस्ता कर्मचारीको हामीले यस वर्ष करार थपेनौं,’ हमालले भने।

उपमहानगरको कार्यालय व्यवस्थापनका लागि ओएनएम लागू गर्ने सर्भे रिपोर्ट आइसकेको हमालले बताए। उपमहानगरलाई कति कर्मचारी आवश्यक छन् भन्ने रिपोर्ट आएकाले सोहीअनुसार अगाडि बढ्ने हमालले सुनाए। त्यो सर्भे रिपोर्ट लागू गरिसकेपछि तोक लगाएर कर्मचारी भर्ना गर्ने बाटो बन्द भएको उनको दाबी छ। उपमहानगरभित्रका स–साना सडक आफूहरूले बनाउने भए पनि ठूला सडक बनाउन केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था रहेको हमाल बताउँछन्।

प्रदेशले अहिलेसम्म ठूलो सडक बनाउन नसकेको उनको दुखेसो छ। धनगढीका खोलानाला सरसफाइ र नाली सरसफाइ गर्न नगरपालिकाले सक्ने भए पनि डुबान समस्या ठूलो रहेको उनले बताए। उपमहानगरले कृषिको व्यावसायिकीकरण र मूल्य शृंखलामा जोड्ने नीति ल्याएको हमालले सुनाए। उपमहानगरले एक वडा एक उत्पादनको नीति ल्याएको छ। धनगढी उपमहानगरमा कुनै सिँचाइ व्यवस्था छैन। त्यसैले पम्पसेट वा अकासे पानीको भरमा खेती गर्नुपर्छ। ‘हामीले डिजेलबाट चल्ने पम्पसेटलाई विस्थापित गर्दा कृषि मिटर चाहियो। कृषि मिटर प्रयोग गर्दा लागत बच्छ। अहिले किसानको लागतै उठ्ने अवस्था छैन,’ उनले भने, ‘हामीले विद्युत प्राधिकरण धनगढीका हाकिमलाई भेटेर विद्युतको शुल्क बढेकाले कृषि मिटरका लागि योजना बनाउन आग्रह गरेका छौं।’

कृषिमा मुङ खेती गर्ने योजना उपमहानगरको रहेको उनले सुनाए। तीन बाली लगाउन सके ३३ प्रतिशत आम्दानी वृद्धि हुने हमाल बताउँछन्। मुङ खेतीलाई प्रोत्साहन गर्न उपमहानगरले केही बजेटसमेत विनियोजन गरेको छ। मुङ खेती जेठ, वैशाखमा हुने र त्यही समय छाडा पशुको समस्या हुने भएकाले केही अप्ठेरो देखिने गरेको उनको अनुभव छ। छाडा पशुको समस्या समाधानका लागि पनि चार क्लस्टर छुट्याएर पशु संरक्षण केन्द्र खोल्ने उपमहानगरको योजना छ। उनले सबै वडाका नागरिक अगुवालाई बोलाएर समुदायसँग मिलेर काम गर्ने योजना रहेको सुनाए।

हमालसँग धनगढीको फोहोर व्यवस्थापनको पनि छुट्टै योजना छ। ‘हामी डम्पिङ साइटको मोडलमा जाँदैनौं। आजसम्म धनगढी उपमहानगरले फोहोरमैला व्यवस्थापनका लागि राम्रो काम गरेको थाहा पाइएन। एक ठाउँको फोहोर उठाएर लगेर अर्को ठाउँमा फाल्नु व्यवस्थापन होइन,’ हमाल भन्छन्, ‘अब दीर्घकालीन रूपमा फोहोरमैलाको व्यवस्थापनमा जुट्ने योजनासहित काम गर्न चाहन्छु। त्यसका लागि शून्य अवस्थाको कन्सेप्टमा गएर काम गरिहेका छौं।’ उनले फोहोरलाई स्रोतमै छुट्याइने बताए।


'साइटमा लगेर माइक्रो सेग्रिकेसन गर्ने योजना उपमहानगरको छ। ‘गिलो फोहोरलाई मल बनाउने, बेचिने फोहोरलाई बेच्ने र बाँकी बचेको १० प्रतिशत फोहोरलाई व्यवस्थापन गर्न गाह्रो हुँदैन। यसका लागि नागरिकको बानी फेर्नुपर्ने उनको सुझाव छ। दिल्लीबाट खरिद गरेको कन्टेनर धनगढी आइसकेको छ। त्यसका गल्ने/नगल्ने र रि–साइकल गर्न सक्ने फोहोरका कन्टेनर लेखेरै राखेका छौं,’ हमालले भने।

कर्मचारीको आचरण सुधारका लागि केही दिन आफू गेटमै खटिएको हमालले सुनाए। कर्मचारी कार्यालय समयमा आए/नआएको, पोसाक लगाए÷नलगाएको, परिचयपत्र भए÷नभएको चेकजाँच गरिएको उनले बताए। तोकिएको पोसाक, परिचयपत्र साथमा नभएका कर्मचारीलाई फिर्ता गर्दै आएको उनको भनाइ छ। कर्मचारीले मादक पदार्थ सेवन गरेर अफिसमा बस्ने, दिउँसै मादक पदार्थ सेवन गर्ने सुनिएकामा त्यसमा कडाइ गरिएको उनले बताए। अहिले ती सबै कुरा सच्चिएको हमालको दाबी छ। सुशासनका लागि ह्‍वाट्सएप नम्बर जारी गरिएको हमालले बताए। जनताले कुनै गुनासा भए जुनसुकै बेला पनि आफूलाई सहज रूपमा भेट्न सक्ने व्यवस्थासमेत गरिएको उनको भनाइ छ। कुनै पनि कर्मचारीले मेयरमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि एक रुपैयाँ पनि सेवाग्राहीबाट लियो भन्ने गुनासो सुन्नु नपरेको हमाल बताउँछन्।

राजनीतिक दलहरूलाई कसरी मिलाएर अघि बढिरहनुभएको छ भन्ने प्रश्नमा उनी आफ्नो र राजनीतिक दलको उद्देश्य नै फरक भएको सुनाउँछन्। ‘हाम्रो उद्देश्य धनगढी बनाउने हो। राजनीतिक दलको उद्देश्य पार्टी बनाउने हो। उहाँहरूको भोट लक्षित कार्यक्रम हुन्छ। योजना हाल्दा पनि उनीहरूले मेरो कार्यकर्ता, मेरो समूहलाई के फाइदा पुग्छ भनेर काम गर्छन्। हामीले काम गर्दा धनगढीलाई के फाइदा पुग्छ भनेर गर्छौं। राजनीतिक दलभन्दा ठूला जनता हुन्। मैले जनतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,’ उनले भने।

कुनै समस्या आए पनि राजनीतिक दलबाट कामै रोक्ने गरी असहयोग नभएको हमालले बताए। हमालले असल राजनीतिक संस्कारको पनि विकास गरेका छन्। जुनसुकै राष्ट्रिय दलका केन्द्रीय स्तरका नेता धनगढी आउँदा हमाल स्वागत गर्न विमानस्थल पुग्छन्। आफूलाई जानकारी भएसम्म धनगढीमा कुनै नेता आउँदा स्वागत गर्नु आफ्नो संस्कार भएको हमाल ठान्छन्। यही बीचमा राप्रपा छुट्दा विरोध गरेको उनको गुनासो छ। त्यसपछि त्रुटि सच्याइएको हमालले बताए। त्रुटि सच्याउँदा राप्रपा भयो भनेर केही व्यक्तिले हल्ला फैलाएको हमालको गुनासो छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसलाई मत दिँदा केहीले कांग्रेस भयो भनेरसमेत हल्ला फैलाएको उनी बताउँछन्। ‘मलाई जिससको निर्वाचनमा कांग्रेस, एमाले सबैले सहयोग मागेका थिए। मैले कसैलाई भोट नहाल्ने सोच बनाएको थिएँ। भोट नहाले पनि २५ भोट हुने भएकाले निर्णायक म हुन्थेन। पछि मोहन्याल गाउँपालिकाको प्रमुखले भोट हाल्न नपाउने भएपछि १२/१२ मत भयो। निर्णयका लागि गोलाप्रथा गर्नुपर्ने अवस्था आयो। यस्तो अवस्थामा मैले भोट हाल्नुपर्छ भन्ने लाग्यो। सबै साथीहरूले पनि कांग्रेसलाई नै मत हाल्न सुझाए। त्यसपछि मैले त्यहीँ गरें,’ उनले भने। यसलाई उनी आफ्नो विवेक भएको सुनाउँछन्। 

उपमहानगरबासीको हितका लागि कसैको मुख नहेरी मिसनका साथ काम गर्ने योजनामा रहेको उनी दाबी गर्छन्। ‘मैले मुख हेरे केही मान्छे रिसाउलान्। मुख हेर्न थालें भने जनताको आशामाथि कु्ठाराघात हुनेमा सचेत छु,’ हमालले भने।

प्रकाशित: Jul 30, 2022| 09:24 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।