काठमाडौं- संघीयताका विषयमा सदनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको छ। शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साह र एमालेका लालबाबु पण्डितबीच दोहोरी चलेको हो।
साहले एमाले नेताले गणतन्त्र र संघीयताविरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गरेका थिए। आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने दाबी गर्दै सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताले संघीयताविरोधी आवाज बोल्ने गरेको भन्दै त्यसलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरे।
‘अहिले पनि नेकपा(एमाले) का नेतृत्वले संघीयताविरोधी आवाज यो हाउसमा बुलन्द गरिरहेको अवस्था रहेको छ। संघीयताविरोधी आवाज उठ्ने चेष्टा गर्यो भने निश्चित रुपमा यो देशका पीडित जनता, पीडित जनजाति, मधेशी लगायतका पीडितहरुले आफ्ना अधिकार प्राप्तिको निम्ति लडेको थिए,' सांसद साहले भने, 'एमालेका नेताहरू विगतदेखि नै संघीयताविरोधी र धर्मनिरपेक्षताविरोधी अभिव्यक्ति संसदमा नै दिँदै आइरहेका छन्। यस किसिमको आवाज यहाँ हाउसमा उठ्दाखेरी सभामुखले रुलिङ गरेर यस्ता आवाजलाई रोक्न लाग्नु।’
नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रशासनिक रुपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताए। उनले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गरे। उनले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गरेका थिए। सरकार संघीयताको मर्म र भावना विपरित चलिरहेको उनको आरोप छ।
‘संविधानले ३ तहको संघीयता लागू भएको छ। राजनीतिक रुपमा तीनै तह क्रियाशील छ। प्रशासनिक संघीयता आवश्यक पर्छ कि पर्दैन? नेपालको यदि प्रशासनिक रुपको संघीयता हामीले व्यवस्थापन गरेनौँ भने नेपालमा संघीयतामाथि फेरि प्रश्न उठ्ने गर्छ। उठ्न सक्छ,' उनले भने, 'संघीयताको पक्षमा अहिले गठबन्धन सरकार छ कि संघीयतालाई समाप्त गर्न यो गठबन्धन सरकार छ? संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री संघीयताको निरन्तर वकालत गर्नुहुन्छ, ११ महिनादेखि कहाँ हराउनु भएको छ? कि कहीँ कोमामा त जानुभएको छैन? किन आवाज बन्द भयो? कि अहिलेको गठबन्धन संघीयतालाई समाप्त गर्न चाहन्छ? संघीयता समाप्त गर्न चाहँदैन भने त्यो पनि प्रस्ताव ल्याएर छलफलमा ल्याउनुपर्यो। संघीयताको मर्म र भावना विपरीत यो गठबन्धन सरकार चलिरहेको छ।’
उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेपालको विशिष्टकृत शिक्षाको केन्द्र त्रिभूवन विश्वविद्यालयलाई पटक–पटक तालाबन्दी गरेर बन्द गराउन खोजेको आरोपसमेत लगाए।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताए। 'एम'बाट मनी अर्थात् पैसा र त्यसमा अधिकारप्राप्त व्यक्ति 'अधिकारी' हुने भन्दै उनले एम अधिकारी गरभर्नर 'महाप्रसाद अधिकारी' नै भएको तर्क गरेका थिए। नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि उनको माग थियो।
‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्यो। एम अधिकारीका थरका मान्छेले नखोजेपनि, त्यो पार्टीका मान्छेले नखोजेपनि, यो सदनले नखोजेपनि एउटा सांसदको नाताले त मैले खोज्नैपर्यो भनेर म खोज्न रात, दिन लागेँ। मैले प्रमाण पनि भेट्टाएँ। एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ। सबै हेरेँ। अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ। एम भनेको मनी रैछ। 'एम'बाट मनी, मनी भनेको पैसा, ढुकुटी, रुपैयाँ। अधिकारी भनेको अधिकार भएको मान्छे। पैसाको अधिकार भएको मान्छे। अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले। को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन्। गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ,' उनले भने, 'त्यसैले समिति त बनेन तर म आफैँ एक्लै। म त्यो थरको मान्छे पनि होइन। तरपनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु। त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडी बुझाएको छु। उहाँमाथि कारबाही होस्।’
नेकपा (एकीकृत समाजवादी)की सांसद समिना हुसेनले मधेशका किसानले खेती गर्न नपाएर ऋण लागेको उल्लेख गर्दै कृषि विकास बैंकबाट किसानले लिएको ऋण तथा व्याज मिनाहा गरिदिन माग गरिन्। तराई मधेसमा महिला हिंसाका घटना बढिरहेको भएपनि प्रहरी प्रशासनले चासो नदेखाएको उनको आरोप थियो। महिला हिंसा गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग थियो।