काठमाडौं– अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन्।
बिहीबार नेपाल भ्रमणमा आएका उनले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। सहायक विदेशमन्त्री लु काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।
बिहीबार नेपाल पुगेका लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरे।
यसअघि गत मंसिरमा नेपाल भ्रमण गरिसकेका लू दुई दिनसम्म नेपालमा रहने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ। दूतावासले लूको भ्रमणलाई नियमित भनेको छ।
एमसीसी पारित हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ।