काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ केजीभन्दा बढी सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईबाट उडानमार्फत काठमाडौं ओर्लिएका भारतीय नागरिक युसुफ हारुनका गतिविधि शंकास्पद देखिएकपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनलाई नियन्त्रणमा लिएका हुन्।
उनलाई चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा सेतो रंगको प्लाष्टिक भित्र अर्धठोस सुनको पोका दुई थानको अन्दाजी तौल १६१० ग्राम अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हो।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ती क्षेत्री जिसीले बताएका छन्।