काठमाडौं- नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको स्वागत गरेको छ। यद्यपि केही विषयमा उसले संशोधनको माग गर्दै मौद्रिक नीतिको स्वागत गरेको हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति मौद्रिक नीति कार्यान्वयन भए संकटोन्मुख अर्थतन्त्रलाई जोगाउन सक्ने भन्दै उसले प्रशंशा गरेको हो।
नीतिमार्फत् मुद्रा आपूर्ति घट्ने, बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने परिसंघको विश्वास छ। केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको बुझाइ छ। परिसंघले संकटोन्मुख अर्थतन्त्रलाई जोगाउन दोहोरो नीति अवलम्बन गर्न सुझावसमेत दिएको छ।
उत्पादनमूलक क्षेत्र र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता गर्नुपर्ने परिसंघको माग सम्बोधन गर्ने संकेत गरेको भन्दै परिसंघले स्वागत छ। निर्यातजन्य, खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन लगायत निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्थालाई परिसंघले उचित नीति मानेको छ। यस्तो सुविधा परिसंघको सुझाव अनुरुप सम्पूर्ण उत्पादन मुलक उद्योगहरूमा दिनुपर्नेमा सुझाव दिएको छ। मौद्रिक नीतिको प्रथम समिक्षामा थप उत्पादन मुलक क्षेत्र समेत समेटिनेमा परिसंघ विश्वस्त छ। यो सुविधा अधिक्तम २ करोड रुपैयाँको कर्जामा सीमित हुने भनिएकोले यसलाई राष्ट्र बैंकले आगामी दिनहरूमा सच्याई ठूला कर्जामा समेत विस्तार गर्नेसमेत अपेक्षा गरेको छ।
बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि वा पुँजीकोषको रुपमा गणना गर्न सकिने अवधि थप गर्ने व्यवस्था मिलाउने, ग्रीन फाइनान्सिङ लाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय हरित बन्ड निष्काशन गर्नुपर्ने परिसंघका सुझाव समेटिएको छ।
पूर्ण डिजिटल बैंकको स्थापना गर्न नेपाल राष्ट्र बैंकले आवश्यक ऐनहरू संशोधन गर्ने घोषणा, प्रत्यक्ष वैदेशिक लगानी मार्फत स्वीकृत गर्ने र यसलाई सहजीकरण गर्न विदेशी लगानीसंग सम्बन्धित विभिन्न ऐन, नियमावली तथा विनियमावलीहरू लगायत परिसंघले उठाउँदै आएको कानुन संशोधनका विषयमा समेत राष्ट्र बैंक सकारात्मक भएको परिसंघले जनाएको छ।
बैंक तथा वित्तिय संस्था मर्जर र प्राप्तिको समयमा धितोपत्र कारोबार नरोक्ने, कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात, र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनरकर्जा सुविधालाई निरन्तरता दिने व्यवस्था राष्ट्र बैंकले उचित भएको उसको भनाइ छ। यो सुविधा पर्यटन क्षेत्रलाई पनि प्रदान गर्न र पुनरकर्जालाई उत्पादकत्व तथा रोजगारी बृद्धिसंग जोडेर अगाडी बढाउन परिसंघले आग्रह गरेको छ।
अर्थ व्यवस्थालाई चलायमान बनाउन उत्पादनशील क्षेत्रलाई सहज नीति ल्याउन परिसंघले दिएका कतिपय सुझाव राष्ट्र बैंकले सम्बोधन गरेतापनि अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर उसले ठहर गरेको छ। यसले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ। विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जालाई नियन्त्रण गर्दै मौद्रिक नीतिले कसीलो रुप धारण परिसंघको ठहर छ। चालू मौद्रिक नीतिका कारण बजारको समग्र मागमा थप संकुचन आइ रोजगारी सिर्जना समेत प्रभावित बताइएको छ।
कर्जाको लागत महँगो हुँदा नेपाल सरकारले वित्तनीति मार्फत लिएको ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न कठिन हुने भएकोले बाह्य क्षेत्र सन्तुलनमा आँच नआउने गरी समग्र मागलाई समन्वय गर्नेतर्फ मौद्रिक नीतिको आगामी प्रथम त्रैमासिक समिक्षामा नीतिगत दर पुनरावलोकन गर्न परिसंघले माग गरेको छ।