नेपालगञ्ज- बाहिर राणाहरूको दबदबा हुने सहर थियो, नेपालगञ्ज। पद्मशमशेर गद्दीमा थिए। राजधानीमा पद्मोदय हाइस्कुल, पद्मकन्या क्याम्पस र अन्य विद्यालयहरू खोलेर सञ्चालन गरेका थिए। शैक्षिक सुधारका लागि पद्मशमशेरले शिक्षकलाई तालिमका लागि विदेशसमेत पठाएका थिए। गुणात्मक शिक्षाको समर्थक पद्मशमशेरकै पालामा नेपालगञ्जमा पनि एउटा पुस्तकालयको जग गाडियो।
राणा शासन अन्त्यसम्म नेपालगञ्जको विकासले लय समातिसकेको थियो। त्यसमा थारु, मधेसी र मुस्लिम समुदायको कोर भूगोल मानिने यो नेपालगञ्जले सहरको आकार ग्रहण गर्दै थियो। खासगरी पहाडको घ्यू, जडीबुटी भारत पैठारी गर्ने र भारतबाट भित्रिएका लत्ताकपडा र नुन, साबुन पहाड लैजाने ट्रान्जिट प्वाइन्ट थियो, नेपालगञ्ज।
क्रमशः राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाले नेपालगञ्ज जाग्दै गरेको समय केही युवाहरूले पुस्तकालयको सपना देखे। वामदेव शर्मा तौलिहवाका एक बौद्धिक मानिस थिए, उनको ससुराल थियो, नेपालगञ्ज। नेपालगञ्जजस्तो सहरमा पुस्तकालय अभाव महसुस गरेपछि उनले यो कुरा श्रीधर शर्मालगायतका आफन्तलाई सुनाए।
योगेश्वर मिश्र त्यो समयका चल्तापुर्जा मानिस थिए। २००३ मा पुस्तकालय स्थापना गरियो, जसको नाम राखियो, प्रेम पुस्तकालय। शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापित पुस्तकालयले चेतनाको एउटा लहर निर्माण गर्यो। पुस्तकालय स्थापनामा अहं भूमिका खेलेका मिश्रलाई राणा सरकारले एउटा जिम्मेवारी दिएर उदयपुर चिसापानी पठायो।
‘पुस्तकालय निर्माणमा योगेश्वर मिश्र, वामदेव शर्मा, श्रीधर शर्मालगायतका व्यक्तिको भूमिका छ। प्रेम पुस्तकालयको रूपमा स्थापित यो पुस्तकालयको नामबारे भन्न सक्ने अहिले त्यो पुस्ता बाँकी छैन,’ विश्लेषक नरेन्द्रजंग पिटरले भने, ‘कहिले कस्को घर, कहिले कसको डेरामा हुन्थ्यो, पुस्तकालय। केही समय बागेश्वरी मन्दिरमा पनि यो पुस्तकालय राखिएको थियो।’
राणाकालीन समय २००३ मा सर्वसाधारण नागरिकका लागि शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालगञ्जमा स्थापित प्रेम पुस्तकालय संरक्षण अभावमा थलिँदै।
शिक्षा र चेतनाको भोक पालेर बसेको तत्कालीन समाजमा यो पुस्तकालय वाचनालय मात्र बनेन, नेपालगञ्ज सहरका बुद्धिजीवी, पत्रकार, राजनीतिक नेता तथा सामाजिक अगुवाहरूको जमघट हुने, छलफल हुने, बहस गर्ने थलो बन्यो। जहाँ देशको तत्कालीन राजनीतिक तथा सामाजिक विषयबारे चर्चा गरिन्थ्यो। यही पुस्तकालयको आँगनमा नेपालगञ्ज सहरको विकास र आकार निर्माण भए। त्यति मात्र होइन, यो सहरको सामाजिक सहअस्तित्व निर्माण र सहिष्णुताको संरक्षणका लागि विभिन्न धार्मिक गुरुहरू यही पुस्तकालयमा बसेर घन्टौं बहस गरेका छन्। हात मिलाएर शान्तिको सन्देश बाँडेका छन्।
प्रजातन्त्रलाई अपदस्थ गरेर राजा महेन्द्रले २०१७ मा ‘कु’ गरेपछि त्यसको प्रभाव पुस्तकालयमा पनि पर्यो। त्यसपछिका केही वर्षहरू पुस्तकालय सुनसान बनेको सम्झन्छन्, साहित्यकार तथा सामाजिक अगुवा सच्चिदानन्द चौवे। पुस्तकालयको आँगनमा जमघट भएर राजनीतिक चेतना विस्तार गर्ने गतिविधि बन्द भए। पञ्चायत शासनले गति लिन थालेपछि २०२४ मा प्रेम पुस्तकालयबाट नाम परिवर्तन गरी महेन्द्र पुस्तकालयको रूपमा सञ्चालन गरियो।
यो देशको पौने शताब्दी लामो समय सानो होइन। राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तथा यस विषयमा भएका कयौं सामाजिक आन्दोलनको साक्षी मानिएको यो पुस्तकालय अहिले कुन हालतमा छ? यदि कसैले चासो राख्छ भने महेन्द्र पुस्तकालय मृत्युको नजिक छ।
तहसनहसको सिलसिला
नेपालगञ्जको त्रिभुवन चोकदेखि २०० मिटर पूर्व महेन्द्र पुस्तकालयको लोकेसन पर्छ। बाहिर सडकमा मानिस र सवारी साधनको कोलाहल, भीडभाड र चहलपहल छ तर सडक नजिकै पुस्तकालय सधैं सुनसान देखिन्छ। पुस्तक खोज्न पाठकहरू आउन छाडेको जुग भइसकेको छ। तर पुस्तकालयको अवस्थाबारे जान्न, बुझ्न र थाहा पाउन छिटफुट मानिसले पुस्तकालयको गेट खोल्छन्। सूचनाको स्रोत, शिक्षाको केन्द्र र सामाजिक विषयमा कचहरी बस्ने यो पुस्तकालयको यस्तो हविगत कसरी भयो? त्यसका लागि ठीक ३० वर्षअघि पुग्नुपर्छ।
२०४८ मा कन्हैयालाल टन्डनको अध्यक्षतामा गठित दुई वर्षे कार्यकाल रहेको समितिले २०५४ पछि पनि साधारणसभा गर्न सकेन। तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धले माहोल बनाउँदै गर्दा पुस्तकालयका गतिविधिमा केही असर पुग्यो। पुस्तकालय सञ्चालनमै समस्या आइपर्यो। २०७२ पछि लेखापरीक्षणसमेत हुन सकेन। एउटै व्यक्तिको निरन्तर नेतृत्व हुनु तर शान्ति प्रक्रियापछि पनि पुस्तकालय विकासका लागि नयाँ कार्य सञ्चालन नहुनुका पछाडि स्थानीय नेतृत्वकै लापर्वाही सम्झन्छन्।
‘झन्डै ३० वर्षसम्म एउटै व्यक्ति नेतृत्वमा रहने र काम नगर्ने प्रवृत्तिले पुस्तकालय सकियो। नेपालगञ्ज सहरको महत्त्वपूर्ण सम्पत्ति सकिएकामा हामीलाई दुःख लागेको छ,’ साहित्यकार सनत रेग्मी भन्छन्, ‘यसलाई पुनर्जीवन दिन सानो मिहिनेतले सम्भवै छैन। त्यसका लागि सरकारी तवरबाटै कार्यक्रम बन्न जरुरी छ। अस्तव्यस्त अवस्थामा पुर्याउनेको आलोचना गरेर मात्र पनि हुँदैन। अब नयाँ योजना बनाउन आवश्यक भइसक्यो।’
पुस्तकालयको दुई तले भवन छ। भवन आफ्नै भएर पनि जीर्णावस्थामा छ। भवनमा रंगरोगन छैन, सरसफाइ नगरेको लामै समय भएजस्तो देखिन्छ। कुनै समय पुस्तकालयमा ३० भन्दा धेरै दराजमा १२ हजार बढी पुस्तक संकलन गरिएको थियो तर अहिले पुस्तक छैनन्। भएका विस्तारै हराउँदै गइरहेका छन्। तल्लो तलामा रहेका दराजमा हिन्दी, अवधीबाहेक अरू किताब छैनन्। त्यो पनि धमिरा र धुलोले खाएको अवस्थामा छ। कति वर्षदेखि कसले कुन–कुन किताब पुस्तकालयबाट लिएर गए? भन्ने जानकारी हुने कुरै भएन। भारतीय साहित्य, संस्कृति, पत्रपत्रिका र उपन्यासका लागि प्रमुख अध्ययन केन्द्र मानिने यो पुस्तकालय अहिले नाम मात्रको छ। न त पुस्तक पढ्ने मान्छे नै छन्।
यसबीचमा विभिन्न निकायको सहयोगमा पुस्तकालयलाई डिजिटल बनाउने प्रयाससमेत भएको थियो। सो कार्यक्रमका लागि पुस्तकालयमा आएका कम्प्युटर लथालिंग अवस्थामा पुगेका छन्। धुलोले छेडिएका छन्। पुस्तकालयमा पुगेपछि यस्तो लाग्छ, यति बौद्धिक, राजनीतिक पहुँच भएको नेता र साहित्यकारको सहरमा पुस्तकालयको यस्तो हविगत हुँदासमेत कसैलाई वास्ता छैन।
पुस्तकालय ब्युँझाउने प्रयास
बाँकेमा पुस्तकालय संरक्षण र आवश्यक समन्वय गर्न जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति निर्माण गरिएको छ। जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला शिक्षा तथा समन्वय इकाइसमेत यो समितिमा छ।
यो समितिले जिल्लाका पुस्तकालयको अवस्था अध्ययन गर्ने, उत्पन्न विवादको अन्त्य गर्ने तथा पुस्तकालयको सर्वांगीण विकासका लागि बजेट तथा कार्यक्रमसमेत बनाउन सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका, २०६९ मा छ। यही समितिको केही समयअघि बसेको बैठकले पुस्तकालयको छानविन समितिसमेत निर्माण गरेको थियो। नेपालगञ्जका व्यवसायी अजय टण्डनको संयोजकत्वमा प्रकाश आचार्य, वीरेन्द्र यादवलगायत ५ सदस्यीय समिति गठन गरी अध्ययन प्रतिवेदनसमेत जिल्ला पुस्तकालय व्यवस्थापन समितिलाई बुझाइसकेको छ।
पुस्तकालयका आजीवन सदस्यको भेलाले पुस्तकालयलाई व्यवस्थित गर्न बलराम यादवको अध्यक्षतामा तदर्थ समितिसमेत गठन गरेको छ। यादवको अध्यक्षतामा साहित्यकार सनत रेग्मी र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरि तिमल्सिनासमेत रहेको १२ सदस्यीय महेन्द्र पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी जिम्मेवारी दिएपछि पुस्तकालयले जीवन पाउने आश देखिएको हो।
ऐतिहासिक सहर नेपालगञ्जमा अहिले पढ्न मिल्ने कुनै राम्रो पुस्तकालय छैन। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको राजनीति एवं सामाजिक आन्दोलन, व्यापार, शिक्षा र साहित्यको केन्द्र भए पनि नेपालगन्ज सहरबाट पुस्तक पढ्ने बानी क्रमशः कमजोर बन्दै गएको जानकार बताउँछन्।