काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको तथ्यांक सार्वजनिक गरेको छ। विभागको तथ्यांकअनुसार साउनदेखि असारसम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको हो।
यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ। यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम चिया निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। नेपालबाट ३ अर्ब १५ करोड रुपैयाँको कालो चिया निर्यात भएको छ। यस्तै, २७ करोड ६० लाख रुपैयाँ बराबरको ‘ग्रिन टी’ निर्यात भएको छ।
नेपालबाट विश्वका २० वटा देशमा कालो चिया निर्यात हुने गरेको छ। क्यानडा, फ्रान्स, जापान, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, बेल्जियम, चीन, डेनमार्क, जर्मनी, हङकङ, भारत, रसिया, संयुक्त अरब इमिरेट्स, अमेरिका र नामिबियामा कालो चिया निर्यात भएको छ।
यसैगरी दुई दर्जन हाराहारी मुलुकमा नेपालको ‘ग्रिन टी’ निर्यात भएको छ। नेपालबाट चीन, क्यानडा, भारत, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड, न्यूजिल्यान्ड, पोल्यान्ड, पोर्चुगल, कतार, सिंगापुर अमेरिका, बेलायतलगायतका मुलुकमा ‘ग्रिन टी’ निर्यात हुँदै आएको छ।