अछाम- गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन्।
घाइते हुनेमा वर्ष ६५ की नैना विष्ट छन्। गएराति अन्दाजी १ बजेतिर आएको पहिराले अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो।
यसैगरी घाइतेको नैना विष्टको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा गएराति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिए पनि दुर्गम क्षेत्र भएकाले अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।