काठमाडौं- संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक विकास समितिले हजयात्रामा अनियमितता भएको भनिएको विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले हजयात्राका व्यवस्थापनका सम्बन्धमा भएको खर्चलगायतका विषयमा भएको अनियमिततामाथि अनुसन्धान गर्न निर्देशन गरेको छ।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्तो निर्देशन जारी गरेको हो। 'हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरी निश्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ,' सोमबारको बैठकको निर्णयमा लेखिएको छ।
यसका साथै समितिले प्रभावकारी खर्च गराउन र हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण समेत पेस गर्न समितिले निर्देशन दिएको छ। समितिले हजायात्राका समस्या, व्यवस्थापन र उपलब्धिका सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ।
आयोगले उद्देश्यअनुसार काम नगरेको समेत ठहर गरेको छ। आयोगका पदाधिकारीहरू भ्रमणमा जान मात्र चाहन तर मुस्लिम नागरिकको अवस्था सुधारमा केन्द्रित नभएको समितिको ठहर छ। समितिले मुस्लिम समुदायको हितका विषयमा गम्भीर भएर कार्यसम्पादन गराउन आयोगलाई निर्देश गरेको छ।