काठमाडौं- तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ। अवैध गतिविधि गरेको आशंकामा छापा मारिएको प्रहरीले जनाएको छ।
दुई हजारभन्दा बढी कर्मचारी कार्यरत कल सेन्टरमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मारेपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए।
व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको जनाएको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको र पैसा असुल्दै आएको बुझिएको छ।
आइतबार पनि ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु स्काई कल सेन्टरमा प्रहरीले छापा मारेको थियो।
ठगी धन्दा चलाएको आरोपमा भारतीय नागरिक जिसाजसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताएका थिए। उनीहरूले सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लिल म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम गर्दै आएको पाइएको थियो।