बुटवल– गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा आइतबार साँझ दुर्घटना हुँदा मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ।
गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले पुष्टि गरे। उनका अनुसार १६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।
दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको छ। घाइतेहरुको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ।