विराटनगर– प्रदेशको नामकरणमा ढिलाइ हुँदा सुरक्षा खतरा बढेको भन्दै गोप्य मतदानको व्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन्। आइतबार प्रदेशसभा बैठकको शून्य समयमा नेकपा एमालेका सांसद सर्वध्वज साँवाले नामकरणमा ढिलाइ हुँदा आफूहरु घरदेखि संसद्सम्म घेराबन्दीमा पर्न थालेको भन्दै नियमावली संशोधन गरेर गोप्य मतदानको व्यवस्था गर्न माग गरे।
सांसद साँवाले संसदमा आउँदा पनि आफूहरु विभिन्न समूहको घेराबन्दीबाट जोगिँदै आउनुपरेको बताए। सार्वजनिक कायक्रमदेखि घरसम्म पनि यो वा त्यो नामको पक्षमा मतदान गरिनस् भने खबरदार भन्दै विभिन्न समूहले थ्रेट दिन थालेको उनले सुनाए।
यसरी धम्की आउन थालेपछि प्रदेश सांसदहरु असुरक्षित भएको उनको भनाइ थियो। प्रदेशसभाको नियमावलीमा खुला मतदानबाट नामकरण हुने व्यवस्था रहेकोले कसले कुन नामको पक्षमा मत जाहेर गर्यो भन्ने थाहा हुन्छ। साँवाले भने, ‘कसले के नाममा मत दियो भन्ने सबैले जानकारी पाउँदा सांसदहरुलाई झन् जोखिम बढ्ने भयो। गुहार, गुहार सभामुखज्यू हामी असुरक्षित भयौं।’
बैठकमा एमालेकै सांसद हिमादेवी बस्नेतले प्रदेशको नामकरणमा ढिलाइ हुँदा प्रदेशबासीले पहिचानका आधारमा नागरिकता प्राप्त गर्न नपाएको बताइन्। यसले गर्दा संवैधानिक हक उल्लंघन भइरहेको भन्दै उनले चाँडो प्रदेशको नाम टुंगो लगाउन माग गरिन्। बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आफूहरु साझा नाममा सहमति जनाउन तयार रहेकोले अरु दलहरुले पनि साझा नाममा चाँडो सहमति बनाउन आग्रह गरे।
प्रदेश १ सभाको पहिलो कार्यकाल समाप्त हुन लागे पनि दलहरुबीच सहमति नहुँदा अझै प्रदेशको नामकरण टुंगो लागेको छैन। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै किराँत राई यायोक्खा र किराँत याक्थुम चुम्लुङ लगायतका संघसंस्था र दलका भातृ संगठनहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन्।