सोमबार, जेठ ४, २०८३

पहिरोको त्रासले रित्तिँदै गाउँ

कुनै समय निकै चहलपहल हुने टुनीबोट बस्ती पहिरोको चपेटामा परेपछि सुनसान। बाउबाजेले आर्जेको सम्पत्ति, आफैंले बनाएको घर र खाइपाई आएको जागिरसमेत छाड्न विवश छन् स्थानीय।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

बागलुङ–पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकै पटक काम छाडे। पढाउन थालेको झन्डै १० वर्षमा विद्यालय छाडेका राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरू जन्मेको थातथलो नै छाडेर हिँडे।

National life

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरू घर टुनीबोट गाउँमा पर्छ। यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन्।

राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने पात्र हुन्। घरखर्च चलाउन मात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेसा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन्।

२०७७ भदौ २८ र २९ मा यो गाउँमा आएको पहिराले यहाँका ९ घर पुरेको थियो। पहिरामा परेर दुई जनाको मृत्यु भयो। परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासि गाउँमाथिबाट आएको पहिरोले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए।

आसपासका घर जोखिमकै कारण विस्थापित भए। गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको संख्या बढिरहेको छ।

‘न घर जोखिममा थियो, न त मलाई रोजगारीको समस्या। तर के गर्नू? समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन’, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँडेका राजुले भने, ‘पहिराले विस्थापितको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो।’ बाउबाजेले आर्जेको सम्पत्ति, आफैंले बनाएको घर र खाइपाई आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उनले बताए।

कुनै समय निकै चहलपहल हुने टुनीबोट बस्ती अहिले सुनसान छ। त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन्। घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन्। कुनै बेला घर–घरमै रोजगार भएको टुनीबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ। पछिल्लो समय टुनीबोटमा १५ घरपरिवार मात्रै बसोबास गर्छन्। उनीहरूसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन्।

‘गाउँमा बसेर के गर्नू? एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन’, उनले भने, ‘गाउँ सकिएर जंगल भरियो। अब जंगलकै त्रासले गाउँ छाड्नुपर्नेछ।’ रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीय अन्यत्र जाने उपाय नै नभएका मात्रै गाउँमा रहेको शिक्षक राजु बताउँछन्। सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ।

टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौं र बागलुङ बजारमा बस्ने गरेका छन्। केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन्। दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपद्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन्।

विपद्ले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ। बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उनले बताए। सुविधाकै लागि गाउँ छाडेर हिँडेकालाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उनले जानकारी दिए। पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरण मात्रै गर्न सकिने उनको भनाइ छ।

विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पुँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयको माग छ। बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको संख्यामा कमी आउने बुझाइ छ।–रासस

प्रकाशित: Jul 24, 2022| 14:59 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।