विराटनगर– नेकपा एमाले मोरङले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ। नामकरणका विषयमा साम्प्रदायिकता भड्काउने खालका अभिव्यक्ति दिँदै हिँडेकोमा एमालेले आपत्ति जनाएको हो।
विराटनगरमा शनिबार बसेको जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा आसिन रहेको व्यक्तिले प्रदेशको नामकरणका सवालमा साम्प्रदायिकता भड्काउने खालका अभिव्यक्ति दिनु खेदजनक रहेको जनाएको छ। नामकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट मुख्यमन्त्री पन्छिन खोजेको एमालेले आरोप लगाएको छ। अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव दिइएको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए।
एमाले मोरङले अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पुल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहीन काम गर्दै अर्बौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
धान रोप्ने मुख्य समयमा समेत मल र बिउको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उद्दत देखिएको आरोप लगाउँदै एमाले मोरङले यस्ता कृयाकलापप्रति खेद व्यक्त गरेको छ। मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी संस्थागत हुँदै गएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ।
सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुने गरेको ढिलासुस्ति, अनियमितता, भ्रष्टाचार, घुसखोरीलगायतका बेथितिहरुलाई नियन्त्रण गरी आम नागरिकलाई सहज, सरल र भरपर्दो सेवा प्रवाह गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ।