नवलपुर- गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरूआत भइसकेको छ। नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन्।
मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ। मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराेका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ। बर्खा सुरु भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबैभन्दा बढी पिरोल्ने गरेको छ।
मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गरे। ‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनले भने, ‘बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरू सुरू हुन्छन्।’ बर्खा शुरू भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरूको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताए।
सबै राजनीतिक दलका नेताले चुनावको बेलामा नदी नियन्त्रणको आश्वासन दिएर भोट माग्ने गरेको उल्लेख गर्दै महतोले चुनाव सकिएपछि आफूहरूलाई बेवास्ता गर्ने गरेको गुनासो गरे।
नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनी स्थानीय पीडित हुने गरेका छन्। हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन्। मनसुन शुरू भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरू ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैँडाकोट–२ का जीवन बोटेले बताए।
‘बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर, राति नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन’, बोटले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ।’
नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरूको मनमासमेत पीडाका भावहरू मडारिने गरेको बोटे बताउँछन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ।
मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन्। त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन्। बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ।
जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ। पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उनको भनाइ छ। -रासस