विराटनगर– ६ महिनाअघि ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै सामसुम पारिएको खुलासा भएको छ।
गत वर्ष माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो। घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मौखिक रुपमा मिलापत्र भएको पाइएको छ।
बलात्कार घटना मिलापत्र गराएको थाहा पाएपछि गत असार ३० गते पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा आरोपित पुरीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
जागिरको शिलशिलामा घरबाहिर रहेको पीडितका बुबा घरमा आएको समयमा बलात्कार घटना मिलापत्र गराएको थाहा भएपछि घटना बाहिरिएको थियो। बलात्कार घटनापछि बालिकालाई पिसाबमा समस्या भएको थियो।
पीडितका बुबाले भने,‘ पटक–पटक चिकित्सकलाई देखाउँदा पनि निको नभएपछि छोरीले घटनाबारे सुनाइन्।’ श्रीमती र छोरीलाई ज्यान मार्नेसम्मको धम्की दिएर मिलापत्र गराएको आफूले पाएको उनले सुनाए। उनले भने, ‘घरमा आमा–छोरी मात्रै बस्थे, ज्यान मार्ने धम्की दिएपछि डराएछन्।’