काठमाडौं- काठमाडौं उपत्यकामा सीसीटीभी फुटेज हेरेरै प्रहरीले साढे ८ हजार भन्दा घटनामाथि कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा सीसीटीभी फुटेजका आधारमा ८ हजार ६५६ वटा घटनामाथि कारबाही गरिएको जानकारी दिएको हो।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्दा ३३ करोड राजस्व संकलन भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत आर्थिक वर्ष ०७८/७९ मा ५ लाख ४ हजार ६९७ सवारीलाई कारबाही गरी ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व आम्दानी गरेको जानकारी दिएको हो।
लेन अनुशासन उल्लंघन गर्ने १३ हजार ८९३ जनालाई कारबाही गर्दा ३३ हजार ५९० जना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा कारबाहीमा परेका हुन्। यस्तै, तीव्र गतिमा सवारी हाँक्ने १८ हजार ४४७ सवारी कारबाहीमा परेका छन्। रातो बत्ती नियमको पालना नगर्नेहरूको संख्या करिब १९ हजार छ।
अव्यवस्थित सडक पार्क तथा फुटपाथ पार्किङ गर्दा ४१ हजार ९०५ जना कारबाहीमा परेका छन्। बढी भाडा लिने १० हजार २९५ सार्वजनिक सवारीकारबाहीमा परेका छन्।
यस्तै १ हजार ५ सय ९० वटा मोटरसाइकल हराएको भन्दै ट्राफिक प्रहरीमा निवेदन परेको छ। यस्तै ५०६ मोसा चोरीका घटनामा अनुसन्धान भइरहेको र ३७४ व६ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन १० किअस्क मेसिन जडान गरिएको र कागजपत्र लिने स्थान कार्यालयको संख्या ३० पुर्याइएको ट्राफिकले जानकारी दिएको छ। यस्तै ट्राफिक एफएमबाट र १५ वटा निकायसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्राफिक व्यवस्थापनमा ९ निकाय खट्दै आएका छन्।