काठमाडौं- स्पेनिस क्लब बार्सिलोना आर्थिक संकटसँग जुधिरहेको छ। क्लबमा देखिएको आर्थिक संकटले प्रदर्शनमा समेत असर गरिरहेको छ। सोही कारण गत सिजनमा बार्सिलोना उपाधिविहीन बन्न पुग्यो। तर आगामी सिजनमा भने बार्सिलोनाले सुधारको बाटो खोजेको छ। अहिले जारी सरुवा बजारमा बार्सिलोना सक्रिय छ र टोलीको सुधारमा ध्यान दिएको छ।
खासगरी बार्सिलोना अट्याक र डिफेन्समा देखिएको समस्या समधान गर्न केन्द्रित बनेको छ र सोही अनुसारका खेलाडी अनुबन्ध गरिररहेको छ। क्लबको आर्थिक संकट टरिसकेको छैन। त्यसकारण उसले भरसक फ्रि एजेन्टका खेलाडी अनुबन्धलाई प्राथमिकतामा राखेको छ। महँगो सरुवा फि तिरेर खेलाडी अनुबन्ध गर्न सक्ने अवस्था छैन। न त खेलाडीलाई मोटो रकम तलब बापत तिर्ने अवस्था नै छ। तर पनि बार्सिलोना यो समरमा राम्रा खेलाडी अनुबन्ध गर्ने बाटोमा अग्रसर बनेको छ। क्लबका पूर्व कप्तान जाभी हर्नान्डेज प्रमुख प्रशिक्षक छन्। उनले आफ्नो योजना अनुसारका खेलाडीलाई क्लबमा भित्र्याइरहेका छन्। योजनामा नरहेका खेलाडीलाई अन्यत्र पठाउन समेत उनी सक्रिय देखिन्छन्।
गत सिजनमा उपाधिविहीन बन्नु र च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि १८ वर्षपछि युरोपा लिग खेल्नुपरेको पीडा जाभीले बिर्सन सकेका छैनन्। नयाँ सिजनमा जाभी खराब नतिजा चाहँदैनन्। जसका कारण उनले टिमको रिफर्म चाहेका छन्।
खासगरी बार्सिलोना अट्याक र डिफेन्समा देखिएको समस्या समधान गर्न केन्द्रित बनेको छ र सोही अनुसारका खेलाडी अनुबन्ध गरिररहेको छ। क्लबको आर्थिक संकट टरिसकेको छैन। त्यसकारण उसले भरसक फ्रि एजेन्टका खेलाडी अनुबन्धलाई प्राथमिकतामा राखेको छ।
भर्खरैमात्र बार्सिलोनाले जर्मन च्याम्पियन वायर्न म्युनिखका पोलिस फर्वाड रोवर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरेको छ। बार्साले ५० मिलियन युरो तिरेर ३३ वर्षीय लेवान्डोस्कीलाई सन् २०२५ सम्मका लागि अनुबन्ध गरेको छ। बार्सिलोनाले लामो समयको प्रयासपछि लेवान्डोस्कीलाई अनुबन्ध गरेको हो। पूर्वकप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। लेवान्डोस्कीले वायर्नमा गरेको प्रदर्शनलाई निरन्तरता दिने हो भने उनले बार्सामा मेस्सीको अभावलाई पूर्ति गर्न सक्छन्।
त्यसो त लेवान्डोस्कीलाई बार्सिलोना बोरुसिया डर्टमन्डका सहकर्मी पिररे इमेरिक औबामियाङ र उस्मान डेम्बेले साथ दिनेछन्। डर्टमन्डमा हुँदा औबामियाङ र लेवान्डोस्कीले एकएक पटक गोल्डेन बुट जितेका थिए। लेवानडोस्कीको पछिल्ला चार-पाँच सिजनलाई हेर्ने हो भने उनले निरन्तर रुपमा प्रत्येक सिजनमा ५० गोलको आँकडा पूरा गर्दै आइरहेका छन्। लेवान्डोस्की अनुबन्धपछि जाभीले भनेका छन्, 'उनी बार्सिलोनामा अनुबन्ध हुँदा म एकदमै खुशी छु। हामीले धेरै समयदेखि उनलाई भित्र्याउने प्रयास गरिरहेका थियौं। मलाई व्यक्तिगत रुपमा पनि लेवान्डोस्की मन पर्छ, उनी धेरै राम्रो खेलाडी हुन्।'
लक्ष्य: च्याम्पियन्स लिग
बार्सिलोनाले पछिल्ला केही सिजनमा च्याम्पियन्स लिगमा निराशाजनक प्रदर्शन गरिरहेको छ। सन् २०१५ मा च्याम्पियन्स लिग जितेपछि बार्सिलोनाको प्रदर्शन निराशाजनक छ। सन् २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग व्यहोरेको लज्जास्पद हार र सन् २०२० मा क्वाटरफाइनलमा वायर्न म्युनिखसँगको ८-२ को शर्मनाक हारपछि गत सिजन समूह चरणबाटै बाहिरिनुले बार्सिलोनाको स्तर देखाइदिएको छ।
त्यसकारण आगामी सिजनमा बार्सिलोना आक्रामक र शानदार टोली बनाउने अभियानमा लागेको छ। लेवान्डोस्कीको आगमनले फिनिसिङको समस्या समधान हुने र उपाधि जित्ने जाभीको योजना छ। 'उनी हाम्रो क्लबको भविष्यका लागि धेरै महत्वपूर्ण खेलाडी हुन्। हामी उपाधिविहीन भएका थियौं,' उनले भनेका छन्, 'अब लेवान्डोस्की अनुबन्ध भएसँगै क्लबमा देखिएको फिनिसिङको समस्या पनि समाधान हुने छ। साथै हामी च्याम्पियन्स लिगसहित अन्य उपाधिहरु पनि जित्नेछौं।'
बार्सिलोनाले भित्र्याएका र बिक्री गरेका खेलाडी
बार्सिलोनाले फर्वाड उस्मान डेम्बेलेसँगको सम्झौता नवीकरण गरेको छ। डेम्बेले र बार्सिलोनाबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ। त्यस्तै युवा मिडफिल्डर पेड्री, फर्वाड अन्सु फाति, मिडफिल्डर सर्जियो रोबेर्टोले सम्झौता नवीकरण गरिसकेका छन्। पोर्चुगिच फर्वाड फ्रान्सिस ट्रिन्काओ लोनमा घरेलु क्लब स्पोर्टिङ क्लब फर्किसकेका छन्। त्यस्तै गत जनवरीमा ६ महिनाका लागि लोनमा ल्याएका अडामा टोआरे उल्भस फर्किसकेका छन् भने लुक डियोङको लोन सम्झौता बार्सिलोनाले थपेन।
फिलिपे काउन्टिन्हो एस्टन भिल्लालाई बेचेको बार्सिलोनाले क्लेमेन्ट लेङ्गलेटलाई लोनमा टोटनहम पठाएको छ। क्लबका लिजेन्ड ड्यानी आल्भेसले क्लब छाडिसकेका छन्। त्यस्तै डिफेन्डर सामुयल उमटिटी, ओस्कार मिङगेजा , राकि पुच जाभीको योजनामा छैनन्। यस्तै फ्रांकी डिजोङ म्यानचेस्टर युनाइटेड जाने सम्भावना जिवितै छ।
बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीसँगै लिड्स युनाइटेडबाट ब्राजिलियन विंगर राफिन्हालाई अनुबन्ध गरेको छ। राफिन्हा ६७ मिलियन युरोमा सन् २०२७ सम्मका लागि अनुबन्धित भएका हुन्। त्यस्तै बार्सिलोनाले एसी मिलानका मिडिफिल्डर फ्रान्क किस्सी र चेल्सीका डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ।
अट्याक र डिफेन्स दुवै मजबुद
लेवानडोस्की, औबामियाङ, डेम्बेले, राफिन्हा, फाति, मेम्फिस डिपे, फरान टोरेस लगायतका खेलाडीले विपक्षी टिमको रक्षापंक्तिलाई सजिलै समस्यामा पार्न सक्छन्। टोरेस र फाटी जस्ता खेलाडीलाई मज्जाले सुरुदेखि नै खेलाउन सकिन्छ। यी दुवै ‘विंगर’ का रूपमा मध्यभागतिर छिर्न पनि सक्षम छन्। बार्सिलोनाको आक्रमण मात्र सुधार भएको छैन, रक्षापंक्ति पनि उत्तिकै सुदृढ देखिएको छ। टिमको अग्रपंक्ति जसरी ठ्याक्कै मिलेको देखिन्छ, रक्षापंक्तिमा पनि त्यस्तै भएको छैन। आन्द्रेस क्रिस्टेन्सन आएपछि रक्षा पंक्तिमा सुधार भएको छ। जुलेस काउन्डेको उपस्थितिले पनि रक्षापंक्ति बलियो नै हुनेछ। टिममा रोनाल्ड एराजु, जेरार्ड पिके र एरिक गार्सिया जस्ता खेलाडी त यसअघिदेखि नै छन्।
टिमको मिडफिल्ड भने बार्सिलोनाको आफ्नै घरमा हुर्केका खेलाडीले भरिएको छ। सर्जियो बुस्क्वेट, पेड्री, जाभी र निको ला मासियाका उत्पादन हुन्। फ्रान्क केसी टिमले अनुबन्ध गरेको नयाँ खेलाडी भए। फ्रेन्क डे जोङको समस्या बार्सिलोनाले अहिलेसम्म सुल्झाउन भने सकेको छैन। यदि उनी पनि टिममा बस्छन् भने उनको प्रतिभालाई लिएर शंका नै छैन। आगामी सिजनमा बार्सिलोनाले घरेलु लिगमा मात्र होइन, च्याम्पियन्स लिगमा पनि दरिलो चुनौती पेश गर्न सक्नेछ।
- समाचार एजेन्सीहरुको सहयोगमा