काठमाडौं– २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीको बैठकले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गर्यो। घोषणापत्र कार्यान्वयन गर्न शीर्ष नेतृत्वलाई दबाब दिने गरी विभिन्न प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन्।
प्रहरी समायोजन साउनभित्रै गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरू शीर्ष नेताहरूलाई दबाब दिन काठमाडौं आएका हुन्। प्रदेश गृहमन्त्रीको टोलीले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। केही बेरमै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गर्ने भएका छन्।
साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार जाने तयारी उनीहरूको छ। सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार जाने कार्यक्रम रहेको मधेस प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले बताए। ‘प्रहरी समायोजनलगायत जनकपुर घोषणाबारे ध्यानाकर्षण गराउन शीर्ष नेताहरूलाई भेट्न आएका हौं,’ उनले भने।