टीकापुर- कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन्। हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ।
‘हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौं,’ उनले भनिन्, ‘धेरै वर्षदेखि नल्काकै पानी पिउँछौं, कसैलाई केही समस्या भएको छैन। बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ। धमिलो आए पनि त्यही पिउँछौं।’
भजनी नगरपालिका–५ पुलियापुर बाढी प्रभावित क्षेत्र हो। त्यहाँका वासिन्दा असार लाग्ने वित्तिकै हुलाकी सडक किनारामा पाल टाँगेर बस्ने गर्छन्। बर्सेनि असार लाग्दा सडकमा आउने र असोजको मध्यतिर फेरि बिग्रेको घर मर्मत गरी घर फर्कन्छन्। त्यहाँका १५ परिवारको बर्सातभरि सडकमै बास हुन्छ।
नागरिकलाई शुद्ध पिउने पानी पिउन अपरिहार्य भए पनि उनीहरू पनि नल्काको पानी पिउने गरेका छन्। प्रभावित क्षेत्रकी रमा विकले सडकमा बस्दा शुद्ध पानी पिउन सम्भव नभएको बताइन्। ‘हुलाकी सडकमा बास छ, कसरी शुद्ध पानी पाउनु?’ उनले भनिन्, ‘हामी त घाम, पानी, लामखुट्टेको टोकाइ सबै सहन सक्ने भएका छौं। बर्सातमा सर्प, किराको डर त्यतिकै छ।’
उनी बिरामी हुँदा मात्र उमालेको पानी पिउने गरेको बताउँछिन्। ‘सडककै किनारमा दाउरा बटुलेर आगो बालेर खाना पकाउँछौं, यहाँ दाउरा, अन्नकै समस्या छ,’ उनले भनिन्, ‘यस्तो बेला पानी शुद्ध पिउनुपर्छ भन्नेबारेमा ध्यान दिएर मात्रै पुग्दैन। हामी त भोक, प्यास मेटिए पनि रमाउँछौं।’
टीकापुरकी सीता अधिकारीको परिवारले भने फिल्टरको पानी पिउने गरेका छन्। नल्काको पानी फिल्टरमा राख्ने, फिल्टर भएको शुद्ध पानीलाई बाल्टिङमा जम्मा गरी छोपेर राख्ने र आवश्यक परेका बेला त्यही पानी पिउने गरेको उनी बताउँछिन्। ‘घरमा फिल्टर जडान गरेका छौं, त्यही पानी पिउने गरेका छौं,’ अधिकारीले भनिन्, ‘पानीबाट धेरै रोग लाग्ने जोखिम हुने भएकाले हामी सचेत छौं।’
कैलालीकै मीना जिसीका घरमा भने खानेपानीको धारा जडान गरिएको छ। अन्य कामका लागि धाराको पानी प्रयोग गरे पनि पिउनका लागि जारको पानी नै प्रयोग गर्दै आइरहेको उनी बताउँछिन्। ‘धाराको पानी खानयोग्य भनिएको छ तर कहिलेकाहीँ धमिलो, लेदो आउने भएकाले हामीले प्रशोधित पानी किनेर पिउने गरेका छौं,’ उनले भनिन्।
लक्ष्मीनारायण पोख्रेलको परिवारले भने पानीलाई इलेक्टोनिक जगमा तताएर प्रयोग गर्दै आइरहेको छ। सानो परिवार भएकाले जति बेला चाहे पनि सजिलै तताएर खान मिल्ने र सुरक्षित हुने भएकाले पनि इलेक्टिक जगको प्रयोग गर्ने गरेको उनी बताउँछन्।
‘मेरो घरमा १ वर्षको सानो बच्चा छ। हामी सबै परिवार वर्षभरि नै उमालेको पानी पिउँछौं,’ उनले भने, ‘आजभोलि उमालेको पानी अर्को भाडामा जम्मा गरेर चिसो बनाएर पिउँछौं। जाडो सिजनमा भने तातो पानी नै पिउने गरेका छौं।’
पानीका कारण अधिकांश रोग लाग्ने गर्दछन्। शुद्ध पानीले धेरै रोग लाग्नबाट जोगिने भएकाले शुद्ध पिउने पानी नै प्रयोग गर्न टीकापुर अस्पतालका डाक्टर संवाद खरेलको आग्रह छ। ‘पानी शुद्धीकरण गर्ने विभिन्न विधिमध्ये जुन विधि अपनाएर भए पनि शुद्ध पिउने पानी नै प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘स्वस्थ जीवनका लागि शुद्ध पानी अपरिहार्य हो। पानी मात्रै पनि शुद्ध पिउने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ।’
डाक्टर खरेल आजभोलि जताततै बर्सातको मौसममा पानीका मुहान दूषित हुने भएकाले पानी फिल्टर गरेर होस् यो उमालेर प्रयोग गरे पनि धेरै रोगबाट बच्न सकिने बताउँछन्। ‘मानिसको स्वास्थ्यका लागि शुद्ध पानी आवश्यक हुन्छ। मानिसलाई धेरै रोग फोहोर पानी पिउँदा लाग्ने गरेका हुन्छन्। पानी सफा देखिए पनि पानीमा नदेखिने किटाणु अथवा फोहोर हुनसक्छ,’ उनले भने, ‘पानी सफा मात्र भएर पुग्दैन, शुद्ध पानी पिउने कुरामा मानिस सचेत हुनुपर्छ।’ -रासस