बागलुङ- बागलुङको पहिचानका रूपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा छ। नौमती बाजा लोप हुन थालेपछि स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन्।
पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदशे पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन्। उनीहरूले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरूप नौमती बाजा दिने अभियान चलाएको छ।
बागलुङ नगरपालिका–७ को वडा कार्यालयले ३ वर्षअघि नै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो।
यसलगत्तै काठेखोला गाउँपालिकाले २ वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो। नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ। काठेखोला गाउँपालिकाले ८ वटै वडामा १–१ नौमती बाजा समूहलाई नौमती बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजा वितरण गरिसकेको छ।
काठेखोला गाउँपालिकाका ८ वटै दलित समुदायका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिए। स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौसला मिलेको थियो। काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन्।
जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ।
मल्म वडा कार्यालयको २ लाख र स्थानीय बाजा समूहको ४५ हजार रुपैयाँ साझेदारीमा बाजा समूहलाई १/१ थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए। ‘नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ तर उहाँहरूलाई नजिकको सरकारले हौसला दिनुपर्छ, पुस्ता हस्तान्तरण अभावमा लोप हुन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजा खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘यसअघि जिल्लाका अन्य पालिकाका वडाले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुशरण गरेका हौं, थोरै बजेटमा धेरै सकारात्मक काम समेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ।’
निर्वतमान वडाध्यक्ष टीकाबहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो। बाजा निर्माणको चाँजोपाँजो भने चर्चित संगीतकार आशिष अविरलले गरेका थिए। गलकोट लोक संस्कृतिको थलो बन्दै गइरहेको सन्र्दभमा आगामी दिनमा नौमती बाजा तालिम केन्द्र समेत स्थापना गर्ने उद्देश्यअनुरुप अहिले नौमती बाजा वितरण गरिएको निर्वतमान वडाध्यक्ष थापाले जानकारी दिए।
गलकोट-७ मल्मको सिरवारे नमूना टोल विकास संस्थाअन्तर्गत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामग्री सहयोग गरिएको हो। परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानका रुपमा स्थापित छ। पछिल्लो समय स्थानीयमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका बाध्यबाधक तथा कलाकार नयाँ बाजा सामग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितिका कलाकार राजकुमार दर्जीले जानकारी दिए।
नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलीमै काठमाडौंमा तयार गरिएको थियो। नौमती बाजा बजाएरै यहाँका दलित कलाकारले आफ्नो गुजारा समेत चलाउँदै आएका छन्। गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजना समेत अघि सारेको वडाध्यक्ष राजबहादुर थापाले बताए।
विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बागलुङमा बढी मात्रमा प्रचलित छ। बागलुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ। गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखरासम्म माग हुँदै आएको छ। -रासस