काठमाडौं– सडकपेटीमा बस्ने बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पुर्याई मिर्गौला बिक्री गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाही, हिमाल श्रेष्ठ र धनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार पक्राउ परेकाहरुमध्ये विमल र धनबहादुरले आफ्नो पनि एउटा–एउटा मिर्गौला भारतमा बेचिसकेको खुलेको छ। उनीहरुले आफ्नो मिर्गौला बेचेपछि अन्यलाई प्रलोभनमा पारेर मिर्गौला बेच्नका लागि तयार पार्ने गरेका थिए।
प्रहरीका अनुसार उनीहरुले दुई बालकलाई असार १५ गते कोलकता लैजानका लागि आवश्यक मेडिकल परीक्षण गराएर तयारी अवस्थामा राखेका थिए। प्रहरीले दुवै बालकलाई पनि उद्धार गरेको छ।
प्रहरीले पक्राउ परेकामध्ये धनबहादुर मुख्य व्यक्ति रहेको र उनैले मिर्गौला ग्रहणकर्तासँग मिर्गौला प्रत्यारोपणको लागि मोलमलाई गर्ने तथा ग्रहणकर्ताको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्नका लागि आफ्ना सहयोगीलाई परिचालन गर्ने गरेको बताएको छ। मिर्गौलादाता खोज्ने क्रममा सहयोग गर्ने आफ्ना सहयोगीलाई भूमिका अनुसार उनैले पैसा समेत वितरण गर्ने गरेका थिए। आरोपी धनबहादुरले नै पीडितलाई भारतमा लैजाने र मिर्गौला प्रत्यारोपणको काम सकिएपछि नेपाल फिर्ता ल्याउने गरेको पनि प्रहरीले दाबी गरेको छ।
अभियुक्तहरु सार्वजनिक गर्न प्रहरीले आइतबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।