सोमबार, असोज २६, २०८३

'प्रसाद-२' मा विवाद : छायांकन नगरी फर्कियो टिम, विपिन अझै सुटिङस्थलमै

छायांकनका लागि कास्कीको ल्वाङ गाउँ पुगेको निर्माण टिमले बुधबार फिल्मको शुभ मुहुर्त तय गरेको थियो। तर कलाकारलगायत फिल्मका केही सदस्य छायांकनका लागि तयार भएनन्। कारण, छायांकन स्थल पुगेको केही दिनबाटै टिमभित्र उत्पन्न भएको विवाद।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– १७ दिनअघि निकै उत्साहका साथ सुटिङका लागि लोकेसनमा पुगेको ‘प्रसाद–२’ को टिम अन्ततः फिल्म छायांकन नै नगरी फर्किएको छ। फिल्म क्रु र निर्माण टिमबीच व्यवस्थापन र आर्थिक पाटोलाई लिएर अविश्वासको वातावरण सिर्जना भएपछि पूरै टिम छायांकन सुरु नहुँदै फर्किएको हो। 

छायांकनका लागि कास्कीको ल्वाङ गाउँ पुगेको निर्माण टिमले बुधबार फिल्मको शुभ मुहुर्त तय गरेको थियो। तर कलाकारलगायत फिल्मका केही सदस्य छायांकनका लागि तयार भएनन्। कारण, छायांकन स्थल पुगेको केही दिनबाटै टिमभित्र उत्पन्न भएको विवाद। 

के थियो विवाद? 

‘प्रसाद–२’ ०७५ सालमा रिलिज भएको फिल्म ‘प्रसाद’ को सिक्वेलमा रुपमा आउने घोषणा गरिएको थियो। निर्माता सुवास थापाले आफ्नो निजी ब्यानर सुवास थापा प्रोडक्सनमार्फत यो फिल्म ल्याउने तयारी थियो। लकडाउनअघि नै निर्देशनमा सौरभ चौधरीलाई जिम्मेवारी दिएर उनी यो फिल्म बनाउने तयारीमा थिए। अभिनेता विपिन कार्की लगायत केही कलाकारले सोही क्रममा एड्भान्स रकम पनि बुझिसकेका थिए। 

तर कोरोनाकाल र लकडाउन सुरु भएसँगै फिल्मको अघिल्लो तयारीले लय पाउन सकेन। बीचमै रोक्कियो। स्रोतका अनुसार यसमा आर्थिक कारण प्रमुख थियो। यहीबीचमा फिल्मसँग निर्माताका रुपमा जोडिन तयार भए, मेडिकल व्यवसायी केशव पाण्डे। पाण्डेको आगमनसँगै पुनः यो फिल्म निर्माण हुने चर्चा सुरु भयो। सँगसँगै यसअघि तय भएका निर्देशक चौधरी पनि फिल्मबाट आउट भए। नयाँ निर्देशकका रुपमा भित्रिए, सुदर्शन थापा। 

त्यसपछि काठमाडौंमा भव्य कार्यक्रमसहित असार १६ गते फिल्म निर्माणको औपचारिक घोषणा भयो। त्यसको केही दिनपछि लगत्तै फिल्मको टिम छायांकनका लागि कास्की हानियो। बाहिरबाट हेर्दा पूरै टिम उत्साहित नै देखिन्थ्यो। तर, छायांकन नै नगरी फिल्म युनिट काठमाडौं फर्किएको खबरले अहिले पूरै फिल्म वृत्त तरंगित भएको छ। 

१६ असारमा भएको फिल्म घोषणा कार्यक्रममा निर्माता तथा कलाकारहरु।
फिल्मका नयाँ निर्माता केशव पाण्डेले केही आन्तरिक विवादका कारण तत्कालका लागि फिल्मको छायांकन रोकिएको बताए। ‘विविध कारणले कलाकारहरु पनि तितरवितर भए, कानुनी रुपमा पनि केही प्रक्रियाहरु बाँकी नै थिए। त्यसैले तत्काल फिल्मको छायांकन सुरु हुन सकेन,’ उनले धेरै बोल्न चाहेनन्। 

फिल्मका अभिनेता विपिन कार्कीले निर्माण टिमबाट विश्वासको वातावरण सिर्जना हुन नसक्दा छायांकन रोकिएको बताए। ‘मेरो कारण फिल्म रोकियो भन्ने खबर पढेर म आफैं अचम्मित भएँ,’ अभिनेता कार्कीले नेपाल समयसँग भने, ‘अरु सबै काठमाडौं गइसके, अहिले सुटिङ गर्ने भनिएको ल्वाङ गाउँमा म एक्लै छु। अब आफैं भन्नुस्, मैले छाडेको कि मलाई छाडेको?’

‘के कारण स्थगित भयो त त्यसो भए?’

‘यो विशुद्ध निर्माण टिमको कारणले हो,’ जवाफमा उनले थप प्रष्ट पार्दै भने, ‘एक त चार–पाँच दिनपछि सुटिङमा जाने भनेर हामीलाई लगिएको थियो। तर, १७ दिनसम्म हामी त्यत्तिकै बस्नुप¥यो। अर्को कुरा फिल्म नयाँ ढंगले निर्माणमा गएपछि सुटिङ सुरु हुनुअघि जति एड्भान्स रकम दिने भनिएको थियो, १७ दिन पुग्दासम्म आउने छाँटकाँट भएन। यो मेरोमात्रै होइन, त्यहाँ धेरैको यस्तै गुनासो भयो। पहिले पनि यस्तै भएका कारण हामी धेरै जना सुवास थापा प्रोडक्सनसँग काम नगर्ने भनेर अस्ति नै फर्किन लागेका थियौं। तर, नयाँ निर्माता केशव पाण्डे आएपछि रोकिएका हौं।’

विपिनका अनुसार त्यसपछि अब यो फिल्म निर्माता पाण्डेकै ब्यानरबाट निर्माण गर्ने भनेर सुटिङस्थलमै कागज पनि भयो। ‘तर कानुनी हिसाबले अझै विश्वस्त हुने वातावरण भएन। नम्रताजी पनि आफ्नो पर्सनल कारणले काठमाडौं जानलाई पहिल्यै अनुमति लिइसक्नुभएको थियो। बा (कलाकार लोकमणि सापकोटा) पनि अचानक बिरामी हुनुभयो। यस्तै विविध वातावरणका कारण फिल्मको सुटिङ रोकिएको थियो, बाहिर हल्ला भएजति मात्रै होइन।’

विपिनले अब यो फिल्म सुवास थापा प्रोडक्सनको ब्यानरबाट निर्माण भए आफूले काम नगर्ने समेत बताए। ‘नयाँ निर्माता केशव पाण्डेको ब्यानरबाट निर्माण हुने भयो भने म तयार छु, नत्र पुरानै ब्यानरमा अब म काम गर्न सक्दिनँ,’ उनले भने।

फिल्मको छायांकन सुरु नहुँदै कलाकार तथा प्राविधिकलाई दिएको एड्भान्ससहित अन्य विविध शीर्षकमा करिब ७५ लाख रुपैयाँ खर्च भइसकेको निर्माण टिमको दाबी छ।

प्रकाशित: Jul 14, 2022| 16:43 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।