काठमाडौं– कवि एवं गीतकार वसन्त चौधरी २०७८ को ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित भएका छन्। वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १००औं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गरिएको हो।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गीतकार चौधरीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका थिए।
गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पिस स्रष्टा हुन्। नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले ८ वटा एल्बम ल्याइसकेका छन्। कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रम पस्किइसकेका छन्।
उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्त्वपूर्ण सम्मान तथा पुरस्कार प्राप्त भइसकेका छन्। नेपाली गीत–संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको सम्मान गर्दै २०७८ को ‘छिन्नलता गीत पुरस्कार’बाट सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ।
गुठीले २०७६, २०७७ र २०७८ मा छनोट भएका स्रष्टा तथा सर्जकलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान प्रदान गरेको थियो। २०७८ को छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन्। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ।
यसैगरी २०७६ का लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन्।
२०७७ का लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन्। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएको गुठीका सचिव दिनेश अधिकारीले बताए।