काठमाडौं- मंगलबार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मंगलबार दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाले जनाएको छ।
भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।