नयाँ दिल्ली- अत्यधिक बर्षापछि भएको सडक दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा सुरू गरिएको छ। अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएको भारतीय प्रहरीले बताएको छ।
बालटाल आधार शिविरमा यात्रा सुरु हुने प्रतीक्षामा रहेका ती तीर्थयात्रीहरू यात्रा सुरु भएसँगै खुसी भएका छन्। यसपहिले तीर्थयात्रीलाई गन्तब्यमा जाने व्यवस्था मिलाउन बालटाल र नुनवान दुवैतर्फबाट हेलिकप्टर उपलब्ध गराइएको थियो।
शुक्रबार साँझ करिब ५:३० बजे अमरनाथ गुफामुनि जमेको पानी एक्कासि निस्किँदा १६ जनाको मृत्यु भएको थियो। अझै पनि ४० जना बेपत्ता रहेको बताइएको छ। त्यहाँबाट ३४ घाइतेलाई बाहिर निकालिएको थियो। घटनास्थलमा एनडिआरएफ, एसडिआरएफ र उद्धार कार्यसँग सम्बन्धित सबै एजेन्सीहरू अझै पनि राहत र उद्धार कार्यमा जुटेका छन्।
भारत–तिब्बत सिमाका प्रहरी जनसम्पर्क अधिकृत विवेक कुमार पाण्डेले सोमबार बिहानदेखि बालटाल आधार शिविरमा रहेका तीर्थयात्रीहरूलाई अमरनाथ दर्शनका लागि अनुमति दिइएको थियो।
करिब ११:३० सम्ममा बालटाल मार्ग हुँदै करिब सात हजार भक्तजनहरू अमरनाथ गुफा नजिक पुगिसकेका उनले बताए।