मंगलबार, वैशाख २५, २०८१

देउवा समूहकै नेताले खोले गठबन्धनविरुद्धको 'फायर'

‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’
 |  सोमबार, असार २७, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, असार २७, २०७९

काठमाडौं- सोमबार सानेपास्थित मुख्यालयमा खचाखच भिड थियो। स्थानीय तहको निर्वाचनपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै थियो। गत चैतपछि बस्‍न लागेको बैठकमा भाग लिन र आफ्ना कुरा नेतृत्वलाई सुनाउन नेताहरु लालयित देखिन्थे। सँगै सत्ताको नेतृत्वकर्ता र स्थानीय निर्वाचनमा पहिलो दल बनेका कारण सञ्‍चारमाध्यमका लागि पनि कांग्रेस बैठक उत्तिकै महत्वको विषय थियो।

triton college

पार्टीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै असन्तुष्ट रहेको नेता डा. शेखर कोइराला समूहका युवा/विद्यार्थी आन्दोलित थिए तर, सानेपाको चौघेरामा कांग्रेस केन्द्रीय समितिका सदस्य, सञ्‍चारकर्मी र सुरक्षाकर्मीको भिडभाड नै थियो।  

कांग्रेसको पुरानै रोग हो, तोकिएको समयमा बैठक सुरु नगर्ने। जुन सोमबार पनि देखियो। १ बजेका लागि डाकिएको बैठक ढिलागरी सुरु भएको थियो। तर, सभापति देउवा भने यसअघि भन्दा समयमै सानेपामा पुगेका थिए। देउवा सानेपा पुग्दा करिब १:१५ बजेको थियो। निर्धारित समयमै पुग्‍ने गरेको महामन्त्री गगन थापाभन्दा अघि देउवा सानेपामा पुगेका थिए। करिब साढे २ तिर सुरु भएको बैठक करिब ५:१५ बजे सकियो। बैठक सकिए लगत्तै गगनको ठट्टा थियो, ‘आज आउन अलिकति ढिला भयो, सभापतिज्यू समयमै आइपुग्‍नुभएछ। बैठक हलमा लामो समय बसेर थकान महसुस भएर कार्यकक्षमा के पुगेको थिएँ, बैठक नै सकिएछ।’ 

तर, बैठक सुरु भएको केही समयपछि सानेपामा रोचक दृश्य देखियो। कांग्रेस मुख्यालयको बैठक हलको गेटमा सुरक्षाकर्मीले एक महिला नेतृलाई सोधिरहेका थिए, ‘तपाईँ को हो? कहाँ जान लाग्‍नुभएको?’ बैठक चलिरहँदै बाहिर निस्किएकी ती नेतृलाई पुनः हलमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले तेर्साएको प्रश्‍न थियो, त्यो।  लगत्तै ती नेतृले जवाफ फर्काइन, ‘म केन्द्रीय सदस्य हुँ।’ उनले जवाफ पछि मात्रै सुरक्षाकर्मीले बैठक कक्षमा प्रवेश गर्न दिएका थिए। ती नेतृ थिइन्, रुपा विक।

‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’

corrent noodles
Metro Mart

उनी १४औं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बनेकी थिइन्। एक त सभापति देउवा प्रधानमन्त्री समेत भएकाले सानेपाको सुरक्षा व्यवस्था कडा नै हुन्छ। प्रधानमन्त्रीका सुरक्षामा खटिएका सुरक्षाकर्मीले बैठक कक्ष अघि सुरक्षा दिने गर्छन्। र, १४औं महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाइएको छ। र, यसपटक धेरै नयाँ अनुहार केन्द्रीय समितिमा देखिन्छन्। सोही कारण सोमबार सानेपामा यो रोचक दृश्य देखिएको थियो।  

शेखर समूहका नेताहरुको ठट्टा- हामीले बोल्ने विषय नै बाँकी रहेनन्! 

सोमबारको बैठकमा सात वटा प्रदेशका सभापतिहरुले चुनावी समीक्षा प्रस्तुत गरेका थिए। यस्तै केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए। तर, बैठकमा बोल्ने देउवा पक्षका नेताहरुले नै गठबन्धनबारे तिखो शब्द प्रहार गरे। गठबन्धनको औचित्य, अधार र प्रभावकारितामा ती नेताको प्रश्‍न थियो।

कांग्रेसमा देउवा समूह गठबन्धनको निरन्तरता चाहान्छ। गठबन्धनको विरोध देउवा समूहका नेताहरुले हत्तपत्त गर्दैनन्। तर, आइतबार भने देउवा समूहकै नेताहरुले गठबन्धन माथि प्रश्न उठाए। बागमती प्रदेशका सभापति इन्द्र बानियाँले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबल्याउन नहुनेमा जोड दिए। पार्टीभित्रको एकता खलबल्याएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसको हित नगर्ने उनको दाबी थियो।

‘पार्टी बाहिरको गठबन्धनलाई जोड दिएर पार्टी भित्रको एकता खलबलाउनु हुँदैन। यसले पार्टीको हित गर्दैन,’ उनले भनेका थिए, ‘सम्झौता गर्ने अनि पालना नगर्ने कम्युनिस्टहरु छन्। उनीहरुको कसरी विश्वास गर्ने?’  बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एस र कांग्रेसबीच ६/६ महिना पाउने सहमति गरिएको थियो। तर, अहिले नेकपा एसले सहजरुपमा सत्ता हस्तान्तरण गर्न सकेको छैन। त्यसपछि बानियाँले आक्रोश पोखेका थिए। यस्तै देउवाकै गृहप्रदेश सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोणका आधार स्पष्ट हुनुपर्ने बताएका थिए।

‘केका आधारमा गठबन्धन गर्ने? किन गर्ने?एउटा वडामा संगठन छैन, सांसद ताक्ने? वडा जित्नुपर्यो नि पहिला। मैले मेरो जिल्लामा गठबन्धन नै गरिनँ। गठबन्धन गर्ने भए अहिलेदेखि गर्नुस्, नत्र गठबन्धन गर्न दिइँदैन,’ उनले भनेका थिए। 

यस्तै देउवा पक्षीय केन्द्रीय सदस्य गुरु बरालले पनि गठबन्धनका बारेमा प्रश्न उठाएका थिए। ‘कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवा जंगिएका हुन्। बरालले कांग्रेसले सिंगल लडेर जित्ने क्षमता राख्नुपर्ने र त्यसको तयारी गर्नुपर्ने धारणा राखेका थिए। उनको भनाइ थियो, ‘आफ्नो एकता कायम गरौं, सिंगल लडौं। त्यसको तयारी गरौं।’

बराल बोल्दाबोल्दै सभापति देउवाले उनलाई रोके। आक्रोशित  मुडमा पुगेका देउवाले भने, ‘उसो भए सिंगल लडेर जित्‍नु नि त!’ देउवा निटक नेताहरुले निरन्तर गठबन्धनका बारेमा प्रश्न उठाएपछि शेखर समूहका एक नेताले बैठकपछि ठट्टा गर्न भ्याए। ‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’ बैठक मंगलबार १ बजे पुनः बस्‍नेछ।

प्रकाशित: Jul 11, 2022| 20:42 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...