काठमाडौं– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्रवेश गरेसँगै देखिन्छ, चर्चित व्यक्तित्वका क्यारिकेचर, जसलाई झट्ट हेर्दा चिन्न गाह्रो हुन्छ। हेर्दै गए हाँसो उठ्छ र गम्भीर पनि बनाउँछ।
‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनीका लागि राखिएका चर्चित सेलिब्रिटीका क्यारिकेचरका क्यानाभासले जोकोहीलाई लोभ्याउँछ। आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ।
प्रदर्शनीमा हाँस्य कलाकार हरिवंश आचार्य, रंगकर्मी सुनिल पोखरेल, पत्रकार ऋषि धमलालगायत विभिन्न क्षेत्रका क्यारिकेचर देख्न सकिन्छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो।
नाफाका कुलपति केके कर्माचार्यले नेपाली कला क्षेत्रमा क्यारिकेचरको महत्त्व पछिल्लो समय बढ्दै गएको बताए। उनले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्त्व रहेको बताउँदै यसलाई अझै समृद्ध पार्नुपर्ने धारणा व्यक्त गरे।
कुलपति कर्माचार्यले भने, ‘नेपालमा क्यारिकेचरको विकास र यसको उठान निकै प्रभावकारी ढंगले अघि बढिरहेको छ। विगतका वर्षमा जस्तै यो वर्ष निकै राम्रा क्यारिकेचर प्रदर्शनीमा राखिएका छन्।’
कुलपति कर्माचार्यले यसको सशक्तीकरण, विकास तथा विस्तारका लागि प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्त्व र आवश्यकता बढ्दै गइरहेको सुनाए। प्रतिष्ठानले कलाका विविध पक्ष र विधालाई समेट्दै गइरहेको बताउँदै कार्टुन र क्यारिकेचरका समेत विविध कार्यक्रम गरिरहेको उनले बताए।
उपकुलपति चित्रकारले भने, ‘नेपाली कलालाई आममानिससम्म पु¥याउन सबैले प्रयत्न गर्नुपर्छ। कलाले नै मानिसलाई समृद्ध र विशिष्ट बनाउने भएकाले यसको विकास र विस्तारमा पहल लिनुपर्दछ। समाजसँग सीधै संवाद गर्न सक्ने विधाको रूपमा कार्टुनलाई पनि लिइन्छ। यसलाई हामीले अझ कलात्मक ढंगले अगाडि बढाउनुपर्दछ।’
कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए।
समाजमा योगदान दिएका व्यक्ति र तिनको कर्मलाई सबैले आत्मबोध गर्न सकून् भन्ने लक्ष्य राखेरै क्यारिकेचर बनाइएको उनको भनाइ छ। उनले भने, ‘नयाँ पुस्ताले यस किसिमका कार्यशाला, प्रदर्शनी तथा कार्यक्रमबाट धेरै सिक्न सक्नुपर्दछ । कला अभ्याससँगै लामो अनुभवबाट पनि सिकिने विधा हो।’
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन–क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८–३० गतेसम्म महिला कलाकार सहभागी गराई क्यारिकेचर कार्यशाला गरिएको जानकारी दिए।
नाफा हलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी ४० बढी कलाकारले हाँस्य कलाकार हरिवंश आचार्य, रंगकर्मी सुनिल पोखरेल, पत्रकार ऋषि धमलालगायत विभिन्न क्षेत्रका व्यक्तित्वका क्यारिकेचर समावेश गरेका छन्।
उनका अनुसार कार्यशालामा विभिन्न कलेजमा अध्ययनरत २३ जना महिला कलाकारले भाग लिएका थिए। खनालले कसैको मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर भएको जनाउँदै यसमा हाँस्य–व्यंग्य हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘कार्टुन कलाभित्र तिखो व्यंग्य हुन्छ। समाजमा घटित अनेकौं घटनालाई सटिक तवरले व्यंग्य गरेर सचेत गराउन कार्टुन बनाइन्छ। कतिलाई तिखो प्रहार पच्दैन, कतिले सहज ढंगबाट लिन्छन्। तर क्यारिकेचर, कार्टुनभन्दा फरक छ। यो राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिवेशमा ख्यातिप्राप्त व्यक्तित्वलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्दै क्यारिकेचर बनाइन्छ।’
क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्त्व विशिष्ट रहेको धारणा व्यक्त गरे। उनले भने, ‘क्यारिकेचर अर्थात् ‘अनुहारको व्यंग्यात्मक हाउभाउ’ व्यंग्यचित्रको अर्को पाटो हो। रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रूपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ।’
क्षितिजले यसपटक क्लब र प्रतिष्ठानले विगतमा जस्तै संयुक्त रूपमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी आयोजना गरेको बताए। उनले भने, ‘प्रतिष्ठान र क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई अभिप्रेरित गर्ने लक्ष्य राखेर गत पुस २८–३० गतेसम्म महिला कलाकारको क्यारिकेचर कार्यशाला गरेको थियो। उक्त कार्यशालामा सहभागी महिला कलाकारको क्यारिकेचर छनोट गरी प्रदर्शनीमा समावेश गरिएको छ।’
क्लबका अध्यक्ष क्षितिजले प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तित्वका क्यारिकेचर राखिएको बताए। उनले भने, ‘प्रतिष्ठान र क्लबले २०७४ देखि नियमित रूपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ। कोरोना कहरका कारण केही असहज भए पनि नेपालमा क्यारिकेचरप्रतिको कला र दर्शकको अभिरुचिलाई ध्यानमा राखेर प्रदर्शनी गरिएको हो।’
क्षितिजका अनुसार प्रदर्शनीमा ४२ जना कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ। प्रदर्शनीमा सहभागी नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले क्यारिकेचर कार्टुनसँगै पत्रकारिता र कला क्षेत्रमा समेत उत्तिकै महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे। उनले भने, ‘प्रदर्शनीमा राखिएका क्यारिकेचरले नेपालको वर्तमान अवस्थालाई समेत बुझ्न सकिन्छ।’
नाफा परिसरमा तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा अशोकमान सिं, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवीन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपांगी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबी गुरुङले विभिन्न व्यक्तित्वका क्यारिकेचर समावेश गरेका छन्।
यस्तै, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी, अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, चलचित्र, व्यापारलगायत क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्स्ना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरि रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामीलगायतका कलाकारले बनाएका क्यारिकेचर राखिएको छ।