काठमाडौं- '८ अर्ब जनसंख्याः सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति' नारासहित आज (जुलाई ११) विश्व जनसंख्या दिवस मनाइँदै छ। सन् १९९० देखि यो दिवस मनाइँदै आएको छ।
सन् १९८९ मा संयुक्त राष्ट्र संघले ११ जुलाईमा जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो। १९८७ जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो। बढ्दो जनसंख्यासँगै बढेको पर्यावरण र विकासको चिन्ताले दिवस मनाउन थालिएको हो।
युएनएफपीएका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख पुगेको छ। यसमध्ये ६५ प्रतिशत १५ देखि ६४ वर्ष उमेर समूहका छन्। ६५ भन्दा बढी उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कमका २५ प्रतिशत हिस्सा छ। केही महिनामै विश्वको जनसंख्या ८ अर्ब पुग्दैछ।
विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। १ अर्ब जनसंख्या १ अर्ब पुग्न लाखौं वर्ष लागेकोमा करिब दुई सय वर्षमै ७ अर्ब पुग्यो। सन् २०११ मा ७ अर्ब रहेको जनसंख्या २०२१ मै ८ अर्बको नजिक पुग्यो। युएनएफपीएका अनुसार २०३० मा ८ अर्ब ५० करोड र २०५० मा ९ अर्ब ७० करोड अनि २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान छ।
नेपालको कुरा गर्ने हो भने गत वर्ष भएको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० पुगेको छ। जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतमात्र रहेको छ।
वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ का अनुसार विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्। २०२७ मा भारतले चीनलाई उछिन्ने अनुमान छ। अहिले चीनको जनसंख्या १ अर्ब ४४ करोड र भारतको १ अर्ब ४० करोड छ।
२० औं शताब्दीको मध्यदेखि विश्वभर नै तीव्र गतिमा जनसंख्या बढेको हो। १९५० देखि २०२० को बीचमा विश्व जनसंख्या तीन गुणाभन्दा बढी बढेको थियो।
जनसंख्या वृद्धिदर १९६५ देखि १९७० को बीचमा चरम बिन्दुमा पुगेको थियो। २००० देखि २०२० को बीचमा औसत वृद्धिर १.२ प्रतिशत थियो तर ४८ वटा देशमा भने तीव्र वृद्धि भयो। ती देशमा अफ्रिका र एसियाका धेरै थिए।
२० औं शताब्दीको मध्यदेखि विकसित देशमा औसत आयु निकै बढेको छ। १०० वर्षभन्दा बढी बाँच्ने जनसंख्या उल्लेख्य बढेको हो।
नेपालको कुरा गर्ने हो भने गत वर्ष भएको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० पुगेको छ। जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतमात्र रहेको छ। अघिल्लो जनगणना (२०६८) मा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो। तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो। यसअघि वि.सं. १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो।
१० वर्षको अन्तरालमा तराईको जनसंख्या ३.३९ प्रतिशतले वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। यसअघि कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो। त्यसैगरी पहाडको जनसंख्या ०.२४ प्रतिशतले मात्र बढेको छ भने हिमालमा ०.६४ प्रतिशतले जनसंख्या घटेको छ।
प्रदेशगत जनसंख्या प्रतिशत
प्रदेश–१ ४९७२०२१ (१७.०३ प्रतिशत)
मधेश ६१२६२८८ (२०.९९ प्रतिशत)
बागमती ६०८४०४२ (२०.८४ प्रतिशत)
गण्डकी २४७९७४५ (८.४९ प्रतिशत)
लुम्बिनी ५१२४२२५ (१७.५५ प्रतिशत)
कर्णाली १६९४८८९ (५.८१ प्रतिशत)
सुदूरपश्चिम २७११२७० (९.२९ प्रतिशत)