सेज विकास समितिले १८ महिनामा निर्माण सक्ने शर्तमा ९५ करोड रुपैयाँमा गत भदौमा शर्मा-अमर-कान्छाराम जेभी निर्माण कम्पनीलाई सडक, ढल र भवन निर्माणको ठेक्का दिएको हो। 'ब्लक ए' मा साढे दुई बिघासम्मका ६७ वटा प्लट उद्योग निर्माणका लागि छुट्याइएको छ।
'ब्लक ए' सञ्चालनमा नआउँदै 'ब्लक बी'मा समेत समितिले पूर्वाधार निर्माण थाल्ने भएको छ। इन्जिनियर न्यौपाने भन्छन्, 'डीपीआर तयार भएर ठेक्का सम्झौताको चरणमा रहेको 'ब्लक बी'मा अतिक्रमित क्षेत्र खाली गराउन स्थानीय प्रशासनलाई आग्रह गरिसकेका छौं।'
राष्ट्रिय गौरवको आयोजना सेज सञ्चालनका लागि स्थानीय बासिन्दा सबैखाले सहयोग गर्न सकारात्मक रहेको जितपुर-सीमरा उपमहानगर प्रमुख डा. कृष्ण पौडेल बताउँछन्। भन्छन्, 'उनीहरूलाई पनि रोजगारी र विकास निर्माणमा सहभागी गराउने सहमति भएकाले खासै ठूलो अवरोध आउँदैन।'
वीरगञ्ज चिनी कारखानाको उखु खेतीका लागि प्रयोगमा रहेको सिमरा र डुमरबानाको आठ सय ३३ बिघा उक्त कारखानाको खारेजीपछि सरकारले आफ्नो स्वामित्वमा लिएको थियो। सरकारले सन् २००४ मै सेज निर्माणको घोषणा गरे पनि नीतिगत अस्पष्टता, स्थानीय बासिन्दाको अवरोध र न्यून बजेट विनियोजनका कारण सन् २००७-२००८ देखि पटक-पटक अवरुद्ध हुँदै दुई वर्षयता निरन्तर जारी छ।
व्यापार घाटा कम गर्न वैदेशिक लगानीसँगै निर्यात प्रबद्र्धनमा जोड दिँदै सरकारले सेज निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। देशैभर सेजको विकास र सञ्चालनको नियमनका लागि सरकारले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मार्फत् विशेष आर्थिक क्षेत्र प्राधिकरण गठन गरेको छ।
प्राधिकरणले हरेक प्रदेशमा कम्तीमा एउटा सेज निर्माण गर्ने योजना ल्याएको छ। प्रदेश-१ का विराटनगर र दमक, २ को सिमरा, ३ को काभ्रे पाँचखाल, ४ को गोरखा, ५ का बाँके र भैरहवा, ६ को जुम्ला र ७ को धनगढीमा सेज सञ्चालन गर्ने योजना छ।
सिमरा सेजको ‘ब्लक ए’ परिसरमा निर्माणाधीन गार्मेन्ट प्रशोधन क्षेत्रको स्केच।
भैरहवा सेजबाट सिक्दै प्राधिकरण
भैरहवा-बुटवल सडक विस्तारका कारण विद्युत् प्राधिकरणले समयमै पूर्वाधार निर्माण गर्न नसक्दा बिजुली अभावमा भैरहवा सेज उद्घाटनको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेन। भैरहवा सेजबाट शिक्षा लिँदै प्राधिकरणले विद्युतकै कारण सिमरा सेज सञ्चालनमा ढिलाइ हुन नदिन ६६ केभी क्षमताको विद्युत् सब-स्टेसन निर्माण शुरु गर्दैछ। सेज प्राधिकरणले सब-स्टेसन निर्माणको काम विद्युत प्राधिकरणको जिम्मा लगाएको छ।
भैरहवा सेज सञ्चालन कार्यविधिबारे निजी क्षेत्रको सुझावलाई समेत मध्यनजर गर्दै सिमरा सेज कार्यविधिको प्रारूप तयार पारिने इन्जिनियर न्यौपानेले जानकारी दिए। उनका अनुसार सेजभित्रको जग्गाको भाडा रकम, न्यूनतम निकासी प्रतिशत, विद्युत् प्रसारणलगायत भैरहवामा देखिएको समस्या यहाँ नदोहोरियोस् भन्नेमा सेज प्राधिकरण सचेत छ।
सरकारले सेजअन्तर्गत् स्थापित उद्योगका लागि कूल उत्पादनको ७५ प्रतिशत अनिवार्य विदेश निर्यात गर्नुपर्ने शर्त राखेको छ। निजी क्षेत्रले आयातीत कच्चा पदार्थ, उच्च ढुवानी लागत, प्राविधिक कमजोरीलगायत कारण देखाउँदै सरकारले तोकेको अनुपातमा निर्यात गर्ने क्षमताका उद्योग सञ्चालन गर्न सम्भव नभएको जिकिर गर्दै आएको छ।
सेजभित्रकै अन्य उद्योगलाई गरिने बिक्रीलाई समेत निर्यातसरह गणना गर्ने सुविधा सरकारले दिए पनि निजी क्षेत्र हौसिन सकेको छैन।
सरकारी स्वामित्वको जग्गा अतिक्रमणमा
सेज प्राधिकरणले कुल आठ सय ३३ बिघामा सेज निर्माणको योजनासहित एदेखि ईसम्म गरी पाँच भागमा विभाजन गरेको छ। 'ब्लक बी' र 'सी'को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर भौतिक पूर्वाधार निर्माणका लागि सम्झौताको चरणमा छ। 'ब्लक बी'मा एक सय २८ बिघा, 'सी'मा ४९.५ बिघा, 'डी'मा एक सय ७८ बिघा र 'ई' मा एक सय ३३ बिघा छुट्याइएको छ।
दुधौरा खोलादेखि पूर्वमा पर्ने 'ब्लक ए'मा भौतिक पूर्वाधार निर्माण थाल्न चुनौती छैन। तर, खोलाभन्दा पश्चिमतर्फ डुमरवानामा अवस्थित ६ सय ७३ बिघा अतिक्रमणमा परेको छ। यो क्षेत्रको जग्गा बस्ती, बजार, विद्यालय, प्रहरी चौकीलगायत सार्वजनिक पूर्वाधार र निजी खेतीपातीमा प्रयोग भइरहेको छ।