काठमाडौं । नेकपा एमालेले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूमाथि सरकारले गरेको धरपकड र गिरफ्तारीको घोर भर्त्सना गरेको छ। पार्टीले एक प्रेस वक्तव्य जारी गर्दै सरकारको यस कदमलाई अधिनायकवादी र कायरतापूर्ण भन्दै कडा शब्दमा निन्दा गरेको हो।
मुलुकमा व्याप्त महँगी, सुकुम्बासी समस्या र शृङ्खलाबद्ध राज्य आतङ्कका विरुद्ध सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात विद्यार्थी नेतालाई प्रहरीले बलपूर्वक गिरफ्तार गरेको थियो। पक्राउ पर्ने अन्य नेताहरूमा जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकी रहेका छन्।
पार्टीले सरकार आफैँले भिजिलान्ते शैलीमा सञ्चार गृह, राजनीतिक नेता र व्यवसायीका कार्यालय अगाडि सवारीसाधनको अवरोध सिर्जना गरी अराजकता फैलाएको आरोप लगाएको छ। सोही घटनाको सांकेतिक विरोध गर्ने क्रममा विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको एमालेले जनाएको छ।
नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि सरकारले हस्तक्षेप गरेको भन्दै एमालेले गिरफ्तार गरिएका विद्यार्थी नेताहरूलाई तत्काल र बिनासर्त ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।