काठमाडौं– अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको अन्नपूर्ण पोस्ट पत्रिका तथा अनलाइनबाट डेढ वर्षअघि राजीनामा दिएका पत्रकारहरु तलब नपाएपछि अदालत पुगेका छन्। मिडिया छाडेका ११ जना पत्रकारको टोली न्याय माग्दै श्रम अदालत पुगेका हुन्।
उनीहरूले शुक्रबार श्रम अदालतमा आफ्नो निवेदन दर्ता गराएका छन्। निवेदन दिनेमा पुष्पराज आचार्य, विमल आचार्य, सामिप्यराज तिमल्सेना, जीवन कुँवर, आकाश क्षेत्री, सृजना खड्का, पवन तिमल्सिना, केदार गौतम, लोकबहादुर कटुवाल, विनोदविक्रम केसी र संगीता श्रेष्ठ छन्।
नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालि (अन्नपूर्ण मिडिया नेटवर्क) आफूहरुलाई श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ तथा श्रमजीवी पत्रकार सम्बन्धी नामावाली, २०५३ ले तोकेको न्यूनतम कानुनी सुविधाबाट बञ्चित गरिएको जिकिर निवेदनमा गरिएको छ।
२०७८ वैशाखमा अन्नपूर्ण छोडेर अन्य विभिन्न मिडियामा काम गर्ने केही पत्रकारले बाँकी पारिश्रमिक पाउनुपर्ने माग राख्दै व्यवस्थापनलाई सामूहिक ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।